राजविराज — एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजावादीहरूसँग हिमचिम बढेको आरोप लगाएका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले आफ्ना स्वार्थका लागि माओवादी अध्यक्ष दाहाल राजावादीसँग लहसिएको आरोप लगाएका हुन् ।
कतिपय दल र पात्र फेरि देशमा अस्थिरता निम्त्याउने प्रयासमा लागेको आरोप लगाउँदै उनले त्यसमा अग्रपंक्तिमा माओवादी अध्यक्ष देखिएको बताए ।
‘सरकारमा छहुन्जेल उहाँ (दाहाल) देशको अर्थतन्त्र राम्रो देख्नुहुन्छ, देश विकासको बाटोमा अगाडि बढिरहेको, निराशाको प्रचार गर्न नहुने, देश बन्दै गरेको भाषण गर्दै हिँड्नु हुन्थ्यो,’ ज्ञवालीले भने, ‘तर सरकारबाट हट्दाको भोलिपल्टदेखि उहाँले नेपाल अब बंगलादेश बन्ने भयो, अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिन थाल्नुभयो ।’
‘कोशी प्रदेशमा उहाँहरूको समेत प्रदेश सभा सदस्यले मिलेर प्रदेश सभाले कोसी नामकरण गरेको हो । तर, अहिले आफ्ना स्वार्थका लागि फेरि पहिचानवादीहरूसँग हात मिलाउनथाल्नु भएको छ । राजावादीहरूसँग हिमचिम बढाउनु भएको छ,’ ज्ञवालीले भने, ‘हरबखत सत्तालाई कसरी बदल्न सकिन्छ, विकासको एजेन्डाभन्दा निरन्तर सत्ताको खेतीमा लाग्ने र अस्थिरताको खेती गर्ने काम भएको छ ।’
हरेक नागरिकलाई आवासको हक हुने भनी संविधानले प्रदान गरेको मौलिक अधिकारलाई सुनिश्चितताका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको प्रस्टीकरण दिँदै ज्ञवालीले पछिल्लो समय भूमिसम्बन्धी अध्यादेशलाई लिएर केही असहमतिका स्वर सुनिए पनि उत्पीडितको पक्षमा रहने दल भूमिसम्बन्धी अध्यादेशको विरोध गर्न नहुने बताए । ‘के भूमिहीनहरू सधैं भूमिहीन रहून् भन्ने चाहेको हो, सडक छेउमा बोरा ओढेर बसेको हेर्न चाहनुभएको हो,’ उनले भने, ‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नेहरूलाई भूमिहीनहरूको पीडाले पोल्नेछ ।’
अध्यादेश ल्याएर सरकारले सरकारी वनजंगल, राष्ट्रिय निकुञ्ज आरक्षको जमिन पनि बाँड्न थालेको भ्रम फैलाइएको आरोप लगाउँदै उनले चार लाख भूमिहीनको आवासको हक पुर्याउन यो अध्यादेश ल्याइएको दाबी गरे ।
