सिरहा — कल्याणपुर नगरपालिका–४ भोक्राहास्थित सन्तोष काठ उद्योगमा स्थानीयले गत माघ २१ गते सामुदायिक वनको काठ राखिएको देखे । स्थानीयले सोधखोज गर्दा उक्त काठ कल्याणपुर–७ भेरियामा रहेको लक्ष्मीनियाँ सामुदायिक वनको रहेको खुल्यो । उनीहरूले तत्कालै प्रहरी र वन कार्यालयलाई जानकारी गराए ।
इलाका प्रहरी कार्यालय कल्याणपुर र सव डिभिजन वन कार्यालय, मिर्चैयाबाट गएको टोलीले उद्योगबाट करिब दुई लाख रुपैयाँ बराबरको सिसौ जातको ५९.७२ क्युफिट गोलिया र १६.११ क्युफिट फलेक बरामद गरेर ल्यायो ।
काठ बरामद भएको दुई साता पुग्न लाग्दा पनि यसमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । डिभिजन वन कार्यालय यो घटना ढाकछोपको प्रयासमा लागेको पाइएको छ । उद्योगबाट नै काठ बरामद गरिएको वन कार्यालयको मुचुल्का नै कान्तिपुरले फेला पारे पनि सिरहाका डीएफओ शैलेन्द्रकुमार मिश्र भने उद्योगबाट नभई बाहिरबाट काठ बरामद भएको दाबी गरिरहेका छन् । मुचुल्का नै भएको काठको विषयमा किन झूटो बोल्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जहाँबाट बरामद भए पनि हामी अनुसन्धान गर्दैछौं ।’
काठ बरामदको घटना ढाकछोपमा वन कर्मचारी, उपभोक्ता समिति, स्थानीय प्रहरीदेखि जनप्रतिनिधिसम्म संलग्न रहेको पाइएको छ । लक्ष्मीनियाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विजय यादव आफूले नै उद्योगमा काठ लगेको स्वीकार गर्छन् । कल्याणपुर–७ का वडाध्यक्ष, सव डिभिजन वन कार्यालय मिर्चैयासहित सबैसँग सल्लाह गरेर आफूले यो काम गरेको उनले दाबी गरे । ‘मैले सबैको सल्लाहमा यो काम गरेको हुँ,’ उनले भने, ‘वडाध्यक्षले पनि केही काठ वडा कार्यालयका नाममा माग्नुभएको थियो, करिब एक महिनाअघि काठ बेचेरै कल्याणपुर प्रहरीलाई पनि गाडी बनाउनका लागि आर्थिक सहयोग गरेको थिएँ ।’
वडाध्यक्ष विष्णुदेव यादवले भने यस्तो कुराकानी फोनमा गर्न नमिल्ने बताएका छन् । ‘यस्तो कुराकानी कहीँ फोनमा गर्न मिल्छ ? कि मिल्छ भने तपाईं नै भन्नूस्,’ उनले भने, ‘म फोनमा यो विषयमा कुराकानी गर्न सक्दिनँ ।’
यता, सव डिभिजन वन कार्यालय मिर्चैयाका प्रमुख महेन्द्र यादवले भने यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताएका छन् । वनबाट काठ झिक्नका लागि उपभोक्ता समितिबाट निर्णय गर्नुपर्ने र आफ्नो कार्यालयलाई औपचारिक जानकारी गराउनुपर्ने भए पनि उनीहरूले कुनै प्रक्रिया पूरा नगरेको उनले बताए ।
वन उपभोक्ता समितिकी कोषाध्यक्ष नविताकुमारी यादव समितिका अध्यक्षलगायतले आफूलाई सामान्य जानकारीसमेत नदिई वनबाट काठ ल्याएको दाबी गरिन् । वनका अध्यक्षसहित यहाँका केही व्यक्तिले अरु निकायसँग मिलेमतो गरी सिंगो वन नै रित्याइदिएको आरोप पनि उनको छ ।
लक्ष्मीनियाँ सामुदायिक वनबाट अवैध रुपमा कटान गरी उद्योगमा पुर्याइएको काठ बरामद भएको पाँच दिनपछि वनमा माघ २६ गते बिहानै आगो लागेको थियो । आगलागीका कारण पछिल्लो समय र यसअघि पनि पटक–पटक अवैध ढंगले उक्त वनबाट कटान गरिएका रुखका मुढा र जरा जलेका छन् ।
यसैगरी, नयाँ रोपिएका विरुवा पनि जलेर नष्ट भएको कोषाध्यक्ष यादवले जानकारी दिइन् । उनका अनुसार गत वर्ष नै उक्त सामुदायिक वनमा ६८ लाख रुपैयाँ खर्चेर नयाँ विरुवा रोपिएको थियो । आगलागीबाट वनमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको उनको अनुमान छ ।
यो आगलागी वन फँडानीको प्रमाण नष्ट गर्ने उद्देश्यले नियोजित रूपमै गरिएको स्थानीयको आरोप छ । ‘वनका अध्यक्षसहित जनप्रतिनिधि, प्रहरी, कर्मचारीको मिलेमतोमै वन फँडानी हुँदै आएको घटना सार्वजनिक भएलगत्तै आगो लाग्नु संयोग हुन सक्दैन,’ एक स्थानीयले भने, ‘यहाँ किन र कसले आगो लगायो भन्ने कुरा जोसुकैले पनि बुझ्न सक्छन् ।’
तर, वनका अध्यक्ष यादवले भने यसमा आफूहरूको कुनै संलग्नता नरहेको भन्दै वन छेउमै खेत भएका किसानले आफ्नो खेतमा आगो लगाउँदा वनसम्म आगो आएको दाबी गरे । यस विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।
