व्यक्ति एक : दुई सरकारी कार्यालयमा जागिर, दुवै ठाउँबाट तलब-भत्ता

एकै व्यक्ति कम्प्युटर अपरेटर र बालविकास शिक्षिका दुवै पदमा कार्यरत

फाल्गुन २, २०८१

अवधेशकुमार झा

Person 1: Jobs in two government offices, salary and allowances from both places

सप्तरी — एकै व्यक्ति वर्षौंदेखि दुई सरकारी कार्यालयमा फरकफरक पदमा रहेर दुवै ठाउँबाट तलब-भत्ता बुझ्न सम्भव छ त ? यस्तै भएको छ, सप्तरीमा ।

सप्तरीको तत्कालीन बसबिटी गाउँ विकास समिति वडा नम्बर ६ की शारदा चौधरी रुपनी गाउँपालिका-५ को वडा कार्यालयमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छिन् । यिनै शारदा राजविराज नगरपालिका-१६ स्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयमा पनि बालविकास शिक्षिकाको रुपमा समेत कार्यरत छिन् ।

२०७१ साउन १ मा तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको सामाजिक परिचालनका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) कार्यक्रमअन्तर्गत चौधरीले सामाजिक परिचालकको रुपमा करार सम्झौता गरी काम सुरु गरेकी थिइन् । कार्यक्रम सकिएपछि तत्कालीन बसबिटी गाविसले उनलाई सामाजिक परिचालकका रुपमा निरन्तरता दियो । पछि बसबिटी गाविस रुपनी गाउँपालिका-५ भएपछि गाउँपालिकाले उनको करारलाई निरन्तरता दिँदै वडा कार्यालयको कम्प्युटर अपरेटरको काममा लगायो । रुपनी गाउँपालिकाबाट उनी मासिक २२ हजार रुपैयाँ तलब बुझ्दै आएकी छन् ।

यिनै चौधरी ०५७ सालमै तत्कालीन बोरिया गाविसमा बालविकास सहजकर्ताको रुपमा नियुक्त भएकी थिइन् । ०५७ वैशाख १९ गतेको जिल्ला शिक्षा कार्यालयको निर्णय अनुसार उनलाई वैशाख २२ देखि बालविकास सहजकर्ताको नियुक्ति दिइएको थियो । बोरिया गाबिस अहिले राजविराज नगरपालिकाको वडा नम्बर १६ भएको छ । यो वडामा रहेको नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय मातहत बालविकास केन्द्रका बालविकास शिक्षिकाको रुपमा शारदाको म्याद थपिएपछि उनको जागिर निरन्तर छ ।

नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयले हाजिरी प्रमाणित गरेपछि राजविराज नगरपालिकाबाट अहिले १७ हजार रुपैयाँ मासिक तलब उनले बुझ्दै आएकी छन् ।

नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक रामानन्द सुनरैतले चौधरी दुई ठाउँमा कार्यरत रहेको आफूले पनि सुनेको बताए । रुपनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादव बिदामा छन् भने यसबारे अन्य कर्मचारीले बताउन चाहेनन् ।

शारदाले कान्तिपुरसँगको कुराकानीमा आफूले बिहान ६ देखि १० बजेसम्म बालविकास शिक्षिकाको रुपमा समुदायमै गएर विद्यार्थीहरुलाई पढाउने गरेको र दिउँसो कम्प्युटर अपरेटरको रुपमा काम गरेको दाबी गरिन् ।

अवधेशकुमार झा

Link copied successfully