राजविराज — नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पास हुने सम्भावना नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रतिनिधि सभामा सरकारमा रहेका दुई ठूला दलको बहुमत भए पनि राष्ट्रिय सभाबाट पास हुने सम्भावना नरहेको बताएका हुन् ।
सप्तरीको राजविराजमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै खनालले दुई तिहाई बहुमत भएका बेला पनि सरकराले नियमित रुपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताए ।
अध्यादेश पास नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा बसिरहन नैतिक रुपमा योग्य नहुने टिप्पणी पनि गरे । उनले भने, ‘अध्यादेश फेल भए वर्तमान सरकार र त्यसका नेतृत्वकर्ता कुर्सीमा बसिरहन नैतिक रुपमा योग्य रहँदैनन् ।’
यस्तै संविधान संशोधनका विषमा सोधिएको प्रश्नमा खनालले संविधान संशोधन जनतासँगको सरोकारको विषय नभएको बताएका छन् । उनले भने, ‘के का लागि संविधान संशोधन? के उद्देश्य पूर्तिका लागि संशोधन? के कृषि क्रान्ति, भूमि सुधार, गरिबी उन्मुलन, औद्योगिकरण, बेरोजगारी अन्त्यका लागि संशोधन हो?’
संविधान लागू गर्न नसक्नेहरुले नै संशोधनको चर्चा गरिरहेको नेता खनालको भनाइ छ ।
