स्कर्पियो र ट्रक ठोक्किँदा पाँच जना घाइते, एकको अवस्था गम्भीर 

माघ २९, २०८१

शिव पुरी

Five people were injured, one seriously, when a Scorpio and a truck collided

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चाँदी पुलमा मंगलबार बिहान मालबाहक ट्रक र स्कर्पियो गाडी एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरबाट सर्लाही जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कर्पियो र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७२९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा स्कर्पियोका चालकसहित पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार बाराको सिम्रौनगढ नगरपालिका–७ का सन्तोष कुशवाहाको टाउको र  निधारमा चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ । 

कुशवाहालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । घाइते हुनेहरुमा मौलापुर नगरपालिका–३ का सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका–५ का प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका–३ मटिअर्वा घर भएका स्कर्पियो चालक रामविनोद महतो र प्रदीप कुशवाहा छन् ।

दुर्घटनामा घाइते अधिकांशको निधार, हात, आँखा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । 

घाइतेमध्ये चार जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घट्नापछि दोलखा जिरी नगरपालिका–४ घर भएका ट्रक चालक फुरी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully