महोत्तरी — माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई पुर्याउन साथ दिने वर्ग, समुदाय र जनतासँगको सम्बन्ध सुमधुर बनाउने बताएका छन् ।
महोत्तरीको बर्दिबासमा एक समारोहलाई सम्बोधन गर्दै दाहालले भने, ‘कहिले कांग्रेस कहिले एमालेसँग मिलेर सत्ता समीकरण गर्दागर्दै परिवर्तनका लागि लडेका र पार्टीलाई साथ दिएका वर्ग समुदाय र जनता कहीँ छुटेको महसुस भएको छ ।’
उनले पार्टीका नेतृत्वलाई इंगित गर्दै भने, ‘हामी कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गर्छौं भन्दाभन्दै हाम्रो आफ्नै वर्ग र जनता छुटे जस्तो भयो, त्यसकारण हामीले त्यसलाई सच्याउन पर्छ’ । सरकारमा रहँदा देश र जनताको हितको पक्षमा पार्टी नेतृत्वले गरेको कार्यको उनले प्रशंसा समेत गरे । यसअघि आफूले सरकारको नेतृत्व गर्दै गर्दा विभिन्न मन्त्रालय र विभागहरूले महत्त्वपूर्ण काम गरेर नयाँ रेकर्ड बनाउन खोजेको कुरा नेपालकै इतिहासमा राम्रो काम भएको भनेर देखिने दाहालले बताए ।
भ्रष्टाचार विरुद्धको अभियान, सामाजिक न्यायका पक्षमा लिएको कदम, अर्थतन्त्र सुधारका लागि चलाएको अभियान आफ्नो नेतृत्वको सरकारको निकै महत्त्वपूर्ण कदम भएको दाहालले प्रस्ट पारे । अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, खाद्यसँग सम्बन्धित र अन्य विभिन्न विषयमा नेपाल र नेपाली जनताको आवश्यकता लागि त्यसबेला सरकारले लिएको पहल र प्रयासहरू इतिहासमा सुनौलो कामका रूपमा रहने उनले बताए ।
देशमा व्याप्त दलाल, बिचौलिया र कमिसनखोरीले आफ्नो सरकारले गरेको राम्रो काम देख्न नसकेर सरकार ढाल्न गरिएको खेलपछि अहिले बनेको सरकारले अध्यादेशको विषय ल्याएर अलोकतान्त्रिक र निरङ्कुशतातिरको यात्रा सुरु गरेको दाहालले बताए ।
