८५ प्रतिशत काम सम्पन्न, ६ महिना म्याद थप

माघ २७, २०८१

श‌ंकर आचार्य

85 percent work completed, 6 months extension

पर्सा — ठेक्का अवधि गुज्रिसक्दा पनि पर्सा–बारा औद्योगिक करिडोरमा निर्माणाधिन प्रसौनी–वीरगन्ज १३२ केभि विद्युत् प्रसारणलाइन आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको २ सय ७० करोड रुपैयाँ लगानीमा निर्माणाधीन यो परियोजनाको काम २०२५ जनवरी १८ मा सकिनुपर्ने हो । चाइना रेल्वे इन्जिनियरिङ ग्रुप अफ कम्पनी र कालिका कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले ठेक्का सकारेको यो काम अहिलेसम्म जम्मा ८५ प्रतिशत मात्रै भएको छ ।

आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बाँकी काम सक्न ६ महिनाको म्याद थपिएको बताए । उनले वीरगन्जको प्रतिमा चोकदेखि वीरगन्ज सवस्टेशनसम्म प्रसारण लाइन पर्ने सडक वीरगन्ज–ठोरी हुलाकी सडक आयोजनाको कार्य क्षेत्रमा परेको र यहाँ काम अघि बढाउन अनुमति लिने प्रक्रिया चलिरहेको बताए ।

प्रसौनी गाउँपालिकाको गण्डक नहर नजिक निर्माणाधीन सवस्टेशनबाट १३२/३३/११ केभी विद्युत् वीरगन्जस्थित प्राधिकरणको सबस्टेशनमा ल्याएपछि वीरगन्जमा पनि विद्युत् आपूर्तिमा वृद्धि हुने आयोजना प्रमुख मुखियाले बताए । उनले निर्माणाधीन प्रसौनी सवस्टेशनमा २ सय मेगावाट क्षमताको ट्रान्सफर्मर पनि जडान गरिन लागेको बताए ।

हाल चालु अवस्थामा रहेको परवानीपुर–रक्सौल प्रसारण लाइन १ सय ३२ केभिए क्षमताको छ भने वीरगन्ज–परवानीपुर प्रसारण लाइन ६६ केभी क्षमताका । यो प्रसारण लाइनबाट भारतबाट विद्युत् आयात र भारततर्फ विद्युत् निर्यात दुबै काम हुँदै आएको छ । आयोजना प्रमुख मुखियाले पर्सा बारा औद्योगिक करिडोरमा विद्युतको माग बर्सेनि बढ्दै जाने भएकाले यो प्रसारण लाइनले सहयोग पुर्‍याउने बताए ।

श‌ंकर

Link copied successfully