१० दिनदेखि हराइरहेका ३ वर्षीय बालकको शव फेला

माघ २६, २०८१

लक्ष्मी साह

Body of 3-year-old boy missing for 10 days found

बारा — जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १० दिनदेखि हराइरहेका तीन वर्षीय बालकको शव  फेला परेको छ । वीरगन्ज-३२ टेढा गाउँनजिकको सियासोती खोलामा बालक अंशु जयसवालको शव शनिबर फेला परेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा वाइबाले बताइन् ।

माघ १७ मा बालक घरबाट खेल्न निस्केका थिए । बालकको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको उनले बताइन् ।

रौतहटको दुर्गा भवानी गाउँपालिका-१ घर भई बालक जितपुरमा मावलीमा बस्दै आएका थिए । रितेश चौधरी जयसवालका ३ वर्षीय बालक अंशु बोल्न नसक्ने अवस्थाका थिए । रौतहटको चन्द्रनगर नगरपालिका बजारमा कोठा भाडामा लिएर बस्दै आएका बालकका बुवा रितेश जयसवाल सामान्य परिवारका हुन् । पत्नी सुत्केरी भएकाले छोरालाई ससुरालीमा छाडेको उनले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully