वीरगन्ज — पर्सा प्रहरीले स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पटके हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका– १० आदर्श नगरमा जाँच गर्ने क्रममा पर्सा बिन्दवासिनी गाउँपालिका–३ झौवा निवासी ४३ वर्षीय अजय कुमार साहको खल्तीबाट सात लाख रुपैयाँ बरामद गरेको हो ।
प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार आदर्श नगरमा चेकजाँच गर्ने क्रममा अजय साहले लगाएको सेतो ट्र्याकसुटको दुवै साइडको खल्तीमा लुकाइछिपाई राखिएको एक हजार दरका नोट सात सय थान फेला परेको हो । अजयलाई नियन्त्रणमा लिई हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता समेत रहेका लम्सालले जनाएका छन् ।
यसअघि पनि अजय कुमार साह माथि जिल्ला प्रहरी कार्यालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । साह पटके हुन्डी कारोबारमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ ।
