सिरहा — सिरहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट उद्योगबाट गत भदौ १५ मा विदेशी ब्रान्डको मार्लबोरो चुरोट बरामद भयो । उद्योगभित्र यस विषयमा हल्लाखल्ला भएपछि प्रहरीले साँझ तीन कार्टुन चुरोट नमुनाका लागि लिएर फर्किएको थियो ।
तर, कान्तिपुरले गत साउन २१ मै उद्योगभित्र अढाई ट्रक चुरोट जलाइएको दृश्य र उक्त चुरोटका बट्टामा गैरकानुनी रिलेबल गरिएको प्रमाणसहित समाचार सम्प्रेषण गरेपछि राजस्व अनुसन्धान कार्यालय, इटहरीले त्यसको बिहानपल्ट उद्योगमा छापा हान्यो ।
उद्योगभित्र चुरोट जलाइएको भिडियो खिचेर तथा इलाका प्रहरी कार्यालय मिर्चैयाले उद्योगभित्रबाट बरामद गरेको अवैध चुरोट लिएर गएको राजस्वले उद्योगसँग लिखित जवाफ माग्दै घटनाको अनुसन्धान सुरु गरेको थियो । तर, पाँच महिनाबढी भएपनि राजस्वले अझै यसको अनुसन्धान टुंग्याउन सकेको छैन ।यो विषय अलि गम्भीर जस्तो देखिएकोले अनुसन्धानमा समय लागेको राजस्वका प्रमुख उत्तमकुमार घिमिरेको दाबी छ ।
राजस्वका अनुसन्धान अधिकृत सरोज कोइरालाका अनुसार, यस प्रकरणको विस्तृत अनुसन्धान भइरहेको छ । 'दुई किसिमको अनुसन्धान हुन्छ, प्रारम्भिक अनुसन्धान हामीले सुरुमै सक्यौं,' कोइरालाले कान्तिपुरसित भने, 'अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।' सामान्यतया प्रारम्भिक चरणमै अनुसन्धान टुंग्याउने गरिएको भएपनि चित्त नबुझेर विस्तृत अनुसन्धान गरिरहेको उनको दाबी छ ।
प्रारम्भिक चरणको अनुसन्धान प्रतिवेदन राजस्व अनुसन्धान विभागलाई पठाइसकेको पनि उनले जनाए । प्रारम्भिक अनुसन्धानको म्याद ६ महिना हुने र विस्तृत अनुसन्धानको म्याद ९ महिनासम्म हुने भएकाले त्यो अवधिभित्रै अनुसन्धान सक्ने दाबी उनले गरे ।
कोइरालाका अनुसार, रिलेबलको विषयमा सम्बन्धित पक्षले विदेशबाट आइरहेको चुरोट बाटोमै हुँदा नेपालमा कर बढेको र घाटा हुने भएपछि कानुनी प्रक्रिया पूरा गरेरै बढी मूल्यको स्टिकर लगाएको जवाफ दिएको छ । तर, यससँग सम्बन्धित कागजात माग्दा भने अहिलेसम्म उनीहरूले दिन नसकेको कोइरालाले बताए ।
चुरोट प्रकरणमा शंकैशंका
यो चुरोटको नेपाली आयातकर्ता जगदम्बा ओभरसिज हो । जुन शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत पर्छ । अनि यो चुरोट जलाइएको र थप भण्डारण गरिएको अवस्थामा भेटिएको सौर्य सिमेन्ट उद्योग पनि शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत नै पर्छ ।
उद्योगले यो चुरोट कहिले पानीमा भिजेको त कहिले म्याद गुज्रिएको भएर जलाउन यहाँ ल्याएको दाबी गर्दै आएको छ । तर, राजस्वकै अनुसार चुरोट नष्ट गर्दाको बखत आन्तरिक राजस्व कार्यालयको प्रतिनिधि अनिवार्य हुनुपर्छ ।
तर, त्यसो गर्दै नगरी साउन २१ मा अढाई ट्रक जति चुरोट गुपचुप रूपमै उद्योगभित्रै जलाइएको थियो । यसरी करोडौंको चुरोट गुपचुप रूपमा जलाउनुलाई यसमा केही न केही रहस्य रहेको भन्ने आशंका गरिएको छ ।
सैगरी, कान्तिपुरले इन्डोनेसियास्थित पीटी फिलिप मोरिस नामक कम्पनीमा उत्पादित आन्तरिक राजस्व विभागको स्टिकर टाँसिएका दुई प्रकारका चुरोट फेला पारेको थियो । जसमा दुवै प्रकारका चुरोटका बट्टामा वास्तविक मूल्य लेखिएको ठाउँमा बढी रकम उल्लेख गरिएको अर्को स्टिकर छ ।
मार्लबोरो मात्रै लेखिएको चुरोटको बट्टामा वास्तविक मूल्य नेपाली २ सय ३० रुपैयाँ उल्लेख छ । तर, वास्तविक मूल्य लेखिएकै ठाउँमा प्लास्टिक कभरको माथिबाट नेपाली २ सय ८० रुपैयाँ लेखिएको कालो स्टिकर टाँसिएको छ ।
यस्तै, मार्लबोरो गोल्ड उल्लेख गरिएको चुरोटको बट्टाको मुनिको भागमा वास्तविक मूल्य नेपाली २ सय ८० लेखिएकामा त्यसमा पनि उसैगरी प्लास्टिक कभरको माथिबाट ३ सय ५० रुपैयाँ उल्लेख गरिएको कालो स्टिकर टाँसिएको छ ।
तर, वीरगन्जस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अनुसार यसरी बढी मूल्यको अर्को स्टिकर लगाएर बिक्री वितरण गर्नु अवैध ठहरिन्छ । कार्यालयका सूचना अधिकारी दिलीप खंग भन्छन्, ‘कुनै पनि सामानको उत्पादक कम्पनीले मूल्य तोकेको हुन्छ, त्यसैको राजस्व पनि तिरिन्छ, आफैंले मूल्य थप्न पाइन्न ।’ यसरी बढी मूल्यको स्टिकर टाँसेर चुरोट बेची उपभोक्तालाई ठग्नुका साथै राज्यको राजस्व पनि छली गरिएको देखिन्छ । यस्तै, उद्योगभित्र भेटिएका दुई प्रकारका चुरोटका बट्टामा उत्पादन मिति सन् २०१९ र २०२१ उल्लेख छ ।
चुरोट सामान्यतया उत्पादन भएको एक–डेढ वर्षसम्म खानयोग्य रहन्छ । तर, म्याद गुज्रिएको देखिएको यो चुरोट मिर्चैया क्षेत्रका देहातका पसलहरूमा समेत भेटिएको थियो । यो घटना बाहिरिएपछि पसलहरूबाट चुरोट हटाएको थियो ।
