सिरहामा तस्करसँग प्रहरी प्रशासनको साँठगाँठ, भारतबाट निर्वाध बाख्रा तस्करी

माघ १८, २०८१

अवधेशकुमार झा, विनय आजाद

Collusion of Police Administration with Smugglers in Siraha, Nirbad Goat Smuggling from India

सिरहा, सप्तरी — भारतबाट सिरहा र सप्तरीको सीमामा पर्ने बलान खोला हुँदै नेपालतर्फ बाख्राको निर्वाध तस्करी हुँदै आएको रहस्य सार्वजनिक भएको छ । प्रहरी प्रशासनको मिलेमतोमै भारतबाट नेपालतर्फ बाख्राको तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको हो ।

कान्तिपुरलाई प्राप्त भएको एक भिडियोमा एउटा पिकअप सडकमा गइरहेको देखिन्छ । अत्यधिक गतिमा जाँदै गरेको ना ४ च ८८२९ नम्बरको त्रिपालले छोपिएको उक्त पिकअपभित्र बाख्रा चिच्याइरहेको आवाज सुनिन्छ ।

यो भिडियो सीमावर्ती बजार भगवानपुर चोकदेखि ५ सय मिटर उत्तरस्थित ठाडी-लहान सडकखण्डको गएको मंगलबार रातिको हो । कान्तिपुरलाई भिडियो दिएका ती स्थानीयले बलान खोलाको सुनसान बगरमा मंगलबार राति पौने ९ बजेको समयमा उक्त पिकअप देखेका थिए ।

तर, त्यस पिकअपमा बाख्रा लोड भइरहेको देखेपछि ती स्थानीयले तत्कालै अस्थायी प्रहरी चौकी, भगवानपुरमा खबर गरेका थिए । तर, प्रहरी आएन । त्यसको १५ मिनेटपछि पिकअप त्यहाँबाट हुलाकी सडक हुँदै भगवानपुरतिर हुँइकियो ।

Collusion of Police Administration with Smugglers in Siraha, Nirbad Goat Smuggling from Indiaभगवानपुरबाट उक्त पिकअप लहानतिर लागेपछि ती स्थानीयले बाटोमा पर्ने इलाका प्रहरी कार्यालय, महेशवारीमा पनि खबर गरे । तैपनि उक्त पिकअप पक्राउ परेन । प्रहरी नै मिलेको शंका लागेपछि ती स्थानीय भिडियो खिचेर घर फर्किएका थिए ।

अस्थायी प्रहरी चौकी भगवानपुरका प्रमुख प्रहरी सहासय निरीक्षक दिनेश यादवले आफूलाई यसबारेमा सूचना आएको स्वीकार गरेपनि हुस्सुले गर्दा आफू समयमै त्यहाँ पुग्न नसकेको दाबी गरे । ‘हामी गएका थियौं, हुस्सुले गर्दा बाटो नै गलत पर्‍यो,’ उनले भने, ‘सर, हामी भेटौं न ।’

महेशवारी प्रहरीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक बाबुराम कार्कीले पनि आफूलाई यस विषयमा सूचना आएको स्वीकार गरेका छन् । तर, त्यसबेला आफू एक ठाउँमा विवाद भएर बाहिर भएको र त्यहाँबाट आएपछि सडकमा निगरानी गर्दा पिकअप नदेखेको दाबी उनले गरे ।‘म त्यसबेला बाहिर थिएँ, उत्ताको विवाद सल्टाएर आएपछि म सडकमा निगरानी गरेँ, तर कतै देखिनँ,’ वरिष्ठ सई कार्कीले भने, ‘सायद गाडी अर्को बाटो भएर पास भएको हुनसक्छ, हाम्रो मिलेमतोको कुरा गलत हो ।’

ती स्थानीयका अनुसार, पिकअपको स्कर्टिङमा पनि एकजना खटिएका थिए । पिकअपको पछिपछि मोटरसाइकलमा गएका ती व्यक्ति लहानका सदाम मन्सुरी भन्ने मान्छे हुन् । उनको लहानस्थित माछा बजारमा तीन वटा मासु पसल रहेको खुलेको छ । यससँगै उनले सिरहासहित जिल्लाबाहिर पनि बाख्रा खसी सप्लाई गर्ने काम पनि गर्छन् ।

तर, तस्कर सदामसँग यस विषयमा जिज्ञासा राख्दा उनले कान्तिपुरकर्मीलाई भेट्न आग्रह गरेका छन् । तपाईंले भारतबाट नेपाल बाख्रा तस्करी गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मैले त्यस्तो काम किन गर्नु ? बुधबार पनि उदयपुरबाट खसी ल्याएको ।’

सुरक्षाकर्मीकै मिलेमतोमा फस्टायो बाख्रा तस्करी

सीमा क्षेत्रका स्थानीयका अनुसार, खासगरी बलान खोला हुँदै भारतबाट नेपालतर्फ बाख्रा तस्करी भइरहेको छ । त्यसमा केही मात्रामा खसी पनि हुने गरेको स्थानीय बताउँछन् । तस्कर गिरोहले भारतबाट खोला हुँदै बाख्रा खसी चराउँदै नेपाल छिराउने गरेको स्थानीयको भनाइ छ ।

भारतीय सीमा पार गरिसकेपछि बलान खोलामा बाख्रा खसी गाडीमा लोड गर्ने र बजारहरुमा लग्ने गरेको भगवानपुरका एक स्थानीयले बताए । यसका लागि तस्कर गिरोहले ठाडी, भगवानपुर, महेशवारी, लहानसहित जिल्लाका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई महिनावारी दिएर मिलाउने गरेको स्थानीयको दाबी छ ।

‘एकदिनको कुरा होइन, दिनका दिन यसैगरी बाख्रा तस्करी हुन्छ,’ भगवानपुरका एक स्थानीयले भने, ‘प्रहरीले नदेखेको होइन, देखेर पनि नदेखेजस्तो गर्छन्, हामीले पनि सूचना दिन्छौं, तर उनीहरु पञ्छिन्छन्, पैसामा बिकेपछि उनीहरु चुप लाग्नु स्वभाविक पनि हो ।’सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले पनि बाख्रा तस्करी भइरहेको कुरा अस्वीकार गर्न सकेनन् । तर, यसमा आफूहरूको मिलेमतो नरहेको दाबी उनको छ ।

‘बाख्री तस्करी भइरहेको छैन भनेर हन्ड्रेड पर्सेन्ट म भन्न सक्दिनँ,’ भण्डारीले कान्तिपुरसित दाबी गर्दै भने, ‘तर, त्यसमा सशस्त्र प्रहरीको मिलेमतो भने छैन ।’ खुल्ला सीमा र सीमित जनशक्तिका कारण केही समस्या रहेको र फाटफुट सामान बारपार भइरहेको उनको स्वीकारोक्ति छ ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले भने प्रहरीको बाख्रा तस्करसँग संलग्नता रहेको कुरा अस्वीकार गरे । ‘सीमामा गलत प्रकृतिका काम गर्नेसँग हाम्रो कुनै सम्बन्ध हुन सक्दैन,’ पण्डितले भने, ‘गलत गतिविधिमा लागेको शंकामा सीमाका कतिपय इन्चार्जहरूलाई फेरबदल र कारवाही पनि गरेका छौं ।’

अवधेशकुमार

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully