वीरगन्ज — तलब नपाएको भन्दै आन्दोलित शिक्षकहरूले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएपछि नौ दिनदेखि पर्साको बहुदरमाईका सामुदायिक विद्यालयमा पढाइ ठप्प भएको छ ।
सात महिनादेखि तलब नपाएकाले जीविकोपार्जनमै कठिनाइ भएको भन्दै गत माघ ६ देखि बहुदरमाई नगरपालिका मातहातका २० वटा सामुदायिक विद्यालयका शिक्षकले विद्यालय बन्द गरी साँचो प्रजिअ गणेश अर्याललाई बुझाएका हुन् ।
विद्यालय बन्द गरेको नवौं दिन बित्दा पनि समस्या समाधान भएको छैन । शिक्षकले नियमित तलब नपाउँदा विद्यालयको शैक्षिक गतिविधि बिग्रिएको भन्दै विद्यार्थीको समूहले गत पुस ५ मा बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । तोडफोड तथा आगजनीमा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले तलब पाएका छैनन् । नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भए पनि नगर प्रमुख सिंघासन साह तेलीले त्यसलाई प्रमाणीकरण नगर्दा बजेट निकासा भएको छैन । गत कात्तिक ८ मा बहुदरमाई नगरपालिकाको बजेट प्रस्तुत भएको थियो ।
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनु परेको थियो । ‘विद्यालय बन्द भएको नवौं दिन बित्दा पनि समस्या समाधानतर्फ सरोकारवाला पक्ष अग्रसर भएका छैनन्,’ उनले भने, ‘स्थिति झन् विकराल बन्दै गएको छ ।’
चालु आर्थिक वर्षको सातौं महिना पुग्दा पनि बहुदरमाई नगरपालिकाको बजेट प्रमाणीकरण भएको छैन । नगरप्रमुख साहले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट निकासा हुन नसकेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनबमोजिम असार १० सम्म आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । तर, बहुदरमाईको २०८१/८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिनापछि गत कात्तिक ८ गते ११ औँ नगरसभामा प्रस्तुत भएको थियो । तर, नगरसभा सम्पन्न भएको करिब तीन महिना बित्दा पनि नगर प्रमुखले बजेट खर्चको अख्तियारी दिएका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ ।
उपप्रमुख सुष्मा कुशवाहका अनुसार नगरप्रमुख साहले विद्यालय संचालन लगायत अन्य समस्या सम्बोधन गर्नेतर्फ चासो नदिएको बताइन् । ‘एसईईको मुखमा ९ दिनदेखि विद्यालय बन्द छ, त्यसलाई कसरी सुचारु गराउनेतर्फ मेयरसाबको कुनै चासो छैन,’ उनले भनिन्, ‘राजनीतिक खिचातानीमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको छ ।’ कात्तिकयता नगर कार्यपालिका बैठकसमेत नबसेको उनले बताइन् ।
नगर प्रमुख साहले नगरसभामा प्रस्तुत भएको बजेटले नगरपालिकाको विकास नहुने भन्दै खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएको बताउँदै आएका छन् । नगरपालिका स्रोतका अनुसार मेयरले प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफालाई सरुवा गराई अर्को प्रमुख नल्याउन्जेल बजेट प्रमाणीकरण नगर्ने बताउने गरेका छन् ।
नगरप्रमुख साहले केही दिनभित्रै समस्या समाधान हुने बताए । ‘अबको २/४ दिनमा समस्या समाधान हुन्छ,’ उनले भने, ‘नयाँ हाकिम आएपछि समस्या समाधान हुनेछ ।’ संघीय मामिला तथा प्रशासन मन्त्रालयको ढिलाइका कारण नयाँ प्रशासकीय अधिकृत नआएको उनले बताए ।
हालका प्रमुख प्रशासकीय अधिकृत मुस्तफा गत पुस ११ देखि नगरपालिकाको कार्यालयमा गएका छैनन् । उनी जिल्ला समन्वय समितिमा हाजिर भएका छन् । मुस्तफाका अनुसार प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख सम्मिलित बैठकमा नगरप्रमुखले बजेट प्रमाणीकरण गर्ने र हालका प्रशासकीय अधिकृत नगरपालिका नजाने सहमति भएको थियो । उक्त बैठकपछि आफू नगरपालिका नगई जिल्ला समन्वय समितिमै हाजिर भएर कामकाज गरिरहेको मुस्तफाले बताए ।
