ढाकछोपको आरोपछि सिरहा प्रशासनद्वारा ७ बुँदे विज्ञप्ति जारी
सिरहा — जिल्ला प्रशासन कार्यालय, सिरहा कारागार घटनाका दोषीलाई कारबाही गर्न पन्छिँदै छानबिन प्रतिवेदन कारागार व्यवस्थापन विभाग, काठमाडौंलाई पठाएको छ । जिल्ला सुरक्षा समितिको बिहीबारको बैठकबाट निर्णय गरी प्रतिवेदन विभागलाई पठाइएको हो ।
कारागार प्रकरणको ढाकछोपको आरोपछि जिल्ला प्रशासन कार्यालय, सिरहाले ७ बुँदे विज्ञप्ति जारी गर्दै जानकारी, कार्यान्वयन, अध्ययन र निर्देशन गर्ने प्रयोजनका लागि प्रतिवेदन विभागलाई पठाइएको उल्लेख गरेको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको हस्ताक्षर रहेको विज्ञप्तिमा छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने कुरा विभागकै निर्देशनबमोजिम हुने पनि उल्लेख गरिएको छ ।
यस्तै, कारागारको आन्तरिक प्रशासनको जिम्मेवारमा रहेका केही व्यक्तिहरू इमान्दार नरहेको तथा अन्य केही कैदीहरूको पनि चालचलन ठीक नरहेको कुरा प्रतिवेदनमा औंल्याइएकोले उनीहरूलाई अबदेखि त्यस्तो जिम्मेवारी नदिने गरी व्यवस्थापन गर्न कारागार कार्यालय, सिरहालाई निर्देशन दिइएको छ ।
यसैगरी, कारागारमा चेक तथा अनुगमनको प्रभावकारी व्यवस्था नरहेको कुरा प्रतिवेदनमा सुझाइएको भन्दै यसमा कडाई गर्न कारागार प्रशासन तथा कारागार सुरक्षा युनिटलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनको विज्ञप्तिमा कारागारमा अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको कुरा भने कतै उल्लेख छैन । आफूहरूले छानबिन प्रतिवेदन विभागलाई पठाएको र यस विषयमा कसरी अगाडि बढ्ने भन्ने कुरा विभागले नै तय गर्ने बरालको भनाइ छ ।
जबकि, कारागार व्यवस्थापन विभागले बुधबार जिल्ला प्रशासन कार्यालयलाई नै प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको थियो । प्रतिवेदनमा सुझाइएका विषयहरू कार्यान्वयन गर्न र विभागमा पनि प्रतिवेदन पठाउन निर्देशन दिइएको थियो ।
