मधेशमा चर्कियो भाषा विवाद, प्रदेशसभा बैठक अवरुद्ध

थारू, मगही, मगर, तामाङलगायतका मातृभाषा नसमेटिएको भन्दै विरोध

माघ १०, २०८१

अजित तिवारी

Language dispute flared up in Madhesh, State Assembly meeting disrupted

जनकपुर — मधेश प्रदेश सरकारले कामकाजी भाषाका लागि प्रदेशसभामा प्रस्तुत गरेको विधेयक विवादमा परेको छ । भाषा विधेयकको विरोध भएपछि बिहीबार बसेको प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । प्रदेशको सरकारी कामकाजीको भाषा विधेयकमा थारु र मगहीलगायतका भाषालाई समावेश नगरेको भन्दै प्रदेशसभाको बैठक र बाहिर पनि विरोध भइरहेको छ । 

धेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानीकुमारी तिवारीले बुधबार नेपाली भाषासँगै मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रदेशसभाको बैठकमा विधेयक प्रस्तुत गरेकी थिइन् । मधेश प्रदेशमा थारु समुदायको पनि बाहुल्य रहेको उनीहरुले बोल्ने थारु भाषा विधेयकमा नसमेटिएको भन्दै विरोध भइरहेको छ । मगहीभाषीहरूले भने बिहीबार प्रदेश सभाको बैठक चलिरहँदा बाहिर प्रदर्शनसमेत गरेका छन् । 

प्रदेशसभाको बैठकमा एमालेका सांसद राजेन्द्र चौधरीले कामकाजी भाषा विधेयकमा थारुलगायतका मातृभाषा समेट्न सुझाव दिँदै विधेयक सच्चयाएर ल्याउन माग गरे । कांग्रेसकी सांसद जिवछी यादवले भाषा विधेयकले मधेशमा बोलिने थुप्रै भाषा समेटन नसकेको भन्दै विरोध जनाइन् । ‘बिधेयकमा अरु भाषा पनि समेटनु पर्‍यो,’ यादवले भनिन,‘नभए हामी संसद चल्न दिन्नौं ।’ सत्तासीन दल जनमत पार्टीका सांसद चन्दन सिंहले भाषा विधेयक छलफलै नगरी ल्याएको बताए । उनले मधेशमा बोलिने सबै मातृभाषालाई विधेयकमा समेटनुपर्ने बताए ।

लोसपाका सांसद जयलुन राइनले मुस्लिमको उर्दू भाषालाई विधेयकमा नसमेटिएकोमा आक्रोश पोखे । माओवादी (केन्द्र) सांसद युवराज भट्टराईले थारू, मगर, मगही, तामाङलगायतका मातृभाषालाई समेटनुपर्ने माग गरे । एकीकृत समाजवादीकी सांसद बेची लुङ्गेलीले भाषाको संरक्षण र विकास गर्नुपर्ने प्रदेश सरकारले नै मधेशका मौलिक र मातृभाषालाई विधेयकमा नसमेटनु विडम्बना भएको बताइन् । प्रदेशसभाको बैठकमा भाषा विधेयकको विवाद चर्किएपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका थिए । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully