सिरहा — सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अवैध लत्ताकपडा भन्सार कार्यालयलाई बुझाएको छ । औरही गाउँपालिका-४, भट्टीमोडबाट मंगलबार नियन्त्रणमा लिइएका उक्त सामान बुधबार भन्सार कार्यालयमा बुझाइएको हो ।
सीमा नाकामा बीओपी इटाटारबाट खटिएको गस्ती टोलीले उक्त लत्ताकपडा नियन्त्रणमा लिएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा १ लाख ७४ हजार ४ सय ८० रुपैयाँ बराबरका छन् ।
तर, तस्करीका लत्ताकपडा लिएर आएका तस्करलाई भने सशस्त्र प्रहरीले छाडेको पाइएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार उक्त कपडा जिल्लाको गोलबजारका एक कपडा व्यापारीको हो ।
उनीहरू दुईवटा पोकामा टाउकोमा बोकेरै उक्त कपडा ल्याइरहेका थिए । सोही क्रममा गस्ती टोलीले उनीहरूलाई कपडासहित पक्राउ गरेको र एकछिनपछि छाडेको स्रोतको भनाइ छ ।
'दुई जना पक्राउ पनि परेका थिए,' स्रोत भन्छ, 'तर, पक्राउ परेको एकछिनमा उनीहरूलाई छाडियो, किन र कसरी छाडियो भन्ने कुरा त म कसरी भनौं, मिलाएर बुझ्नूस् ।'
तर, सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले भने मानिस पक्राउ नपरेको दाबी गरेका छन् । उनीहरूले कपडा बोकेरै ल्याएको भए पनि गस्ती टोलीलाई देखेपछि छाडेर भागेको उनको भनाइ छ ।
'मानिस पक्राउ परेका होइनन्, कपडा बोकेर आइरहेका उनीहरू टोलीलाई देखेर भागिहाले,' उनले दाबी गर्दै भने, 'त्यसपछि हाम्रो टोलीले कपडा नियन्त्रणमा लिएर आयो ।'
