सिरहा — सिरहाका विभिन्न नाका हुँदै भारततर्फ बाख्रा तस्करी भइरहेको पाइएको छ । सिरहाका गाउँहरूबाट बाख्रा खरिद गरी तस्करीको काम गर्ने गिरोहहरूले भारत लगेर बेच्ने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बलले तस्करी गरी बेच्नका लागि भारततर्फ लगिँदै गरेको ६७ वटा बाख्रा सोमबार नियन्त्रणमा लिएको छ । भगवानपुर गाउँपालिका-४ स्थित बलान खोलाबाट उक्त बाख्रा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सिरहाबाट अवैध रूपमा बाख्रा भारत लगिँदैछ भन्ने सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको गस्ती टोलीले उक्त बाख्रा नियन्त्रणमा लिएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताए ।
भण्डारीका अनुसार, उक्त बाख्रा २ लाख १ हजार रुपैयाँ मूल्यबराबरका छन् । नियन्त्रणमा लिइएका बाख्रा भन्सार बुझाउने तयारी भइरहेको उनले जानकारी दिए । बाख्रा डोर्याउँदै आएका मानिसहरू भने फरार भएको उनको भनाइ छ ।
ती मानिसहरू जिल्लाका विभिन्न स्थानमा बाख्रा किन्ने र भारततिर लगेर बेच्ने काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
