२०४३ मा हत्या, ०६० मा सजाय र ०८१ मा पक्राउ

माघ ८, २०८१

अजित तिवारी

जनकपुर — २०४३ सालमा लठ्ठी प्रहार गरी हत्यामा जन्मकैद सजाय तोकिएका एक फरार अभियुक्तलाई धनुषा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका एक व्यक्तिलाई मंगलबार भारतीय सीमाना जटही नाकाबाट पक्राउ गरिएको जानकारी दिएका छन् । 

धनुषाको सबैला नगरपालिका–२ मुसहरी टोल बस्ने हाल ६५ वर्षका रामबाबु यादवले सबैला–२ मा बस्ने जनक यादवलाई २०४३ सालमा लठ्ठी प्रहार गरी हत्या गरेको थियो । दुवैबीच विवाद बढेपछि रामबाबुले जनकमाथि लठ्ठी प्रहार गरेको थियो । हत्यापछि फरार रहेका रामबाबुलाई भने जिल्ला अदालत धनुषाले २०६० साउन १६ गते सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । 

‘वारदातको २१ वर्षपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले मंगलबार(आज) रामबाबुलाई भारतको सीमानजिक लग्मा-जटही नाकाबाट पक्राउ गरिएको छ,’ धनुषा प्रहरीका डीएसपी सिंहले भने,‘पक्राउ गरिएका रामबाबुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पठाइएको छ ।’ 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully