जनकपुर — तीव्र गतिमा रहेको खानेपानी निर्देशनालयको गाडीले आफ्नो लेन ब्रेक गरेर विपरीत लेनमा पुगेर मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडीमा ठक्कर दिएको छ ।
सोमबार अबेर साँझ जनकपुरको रामानन्द चोकमा मन्त्री चढेको सरकारी गाडीलाई अर्को सरकारी गाडीले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुण सिंहका अनुसार दुर्घटनामा मन्त्री सिंहलाई बढी चोट लागेको छ ।
मन्त्री सिंहको छाती र मेरुदण्डमा बढी चोट लागेको डीएसपी सिंहले जानकारी दिए । ‘दुर्घटनामा मन्त्री सिंहका चालक र खानेपानीको गाडीका चालक गरी ३ जना घाइते छन्,’ सिंहले भने,‘तीन जनाको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । अवस्था सामान्य छ ।’
खानेपानी निर्देशनालयको मधेश प्र ०३–००१ झ ००९६ नम्बरको गाडी तीव्र गतिमा जनकपुरको रामाचन्द चोकबाट भाटभटेनी सुपर स्टोरतिर जाँदै थियो । चालकले गाडीको गति नियन्त्रण गर्न नसक्दा आफ्नो लेन ब्रेक गरेर विपरीत अर्को लेनमा गएर मन्त्री चढेको गाडीलाई ठक्कर दिएको डीएसपी सिंहले जानकारी दिए । खानेपानी निर्देशनालयको चालक तीव्र गतिमा भाटभटेनी सुपर मार्केटमा समान किन्न जाँदै गरेको उनले जानकारी दिए । मन्त्री चढेको मधेश प्र ०२–००१ झ०१६५ नम्बरको गाडी पनि दुर्घटनामा क्षतिग्रस्त भएको छ ।
