७ किलोमिटर दूरीमा ६ महिनायता २४ सवारीसाधन दुर्घटनाग्रस्त
पर्सा — हुलाकी सडकअन्तर्गत वीरगन्जको पावरहाउस चोकदेखि तिलाबे खोलासम्मको अति व्यस्त रहने करिब ७ किलोमिटर सडक खण्ड दुई वर्षयता ‘ज्यानमारा सडक’का नामले चिनिन थालेको छ ।
जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्ज महानगरसँग जोड्ने प्रमुख सडक पनि भएकाले यो सडक अत्यन्त व्यस्त रहन्छ । हाल सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीसमेत यसै क्षेत्रमा परेकाले यो सडक खण्डमा चौबिसै घण्टा मालवाहक सवारीसाधनको पनि चाप रहने गरेको छ ।
विशेष गरी बिहानको ८ देखि १० र साँझको ५ देखि ७ बजेको समयमा यो सडक अति व्यस्त रहने गर्छ । यो सडक खण्डमा यसै समयमा बढी दुर्घटना हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा यो सडक खण्डमा ३४ वटा सवारी दुर्घटना भएकामा ४ को मृत्यु र ५५ जना घाइते भएका थिए ।
चालु आवको पुस महिनासम्ममा यो सडक खण्डमा २४ सवारी दुर्घटनामा ४ को मृत्यु र ३२ जना घाइते भएका छन् । ट्राफिक र सशस्त्र प्रहरीसमेतको उपस्थिति रहने यो खण्डमा दुर्घटनामा भने कमी आएको छैन । निरन्तर ज्यानमारा दुर्घटना भइरहँदा पछिल्लो दुई वर्षयता यो सडक खण्ड ज्यानमारा सडकका रुपमा बदनाम भएको हरपतगन्जका दामोदर यादव बताउँछन् । ‘हामी दैनिक आवागमन गर्ने यो सडकमा पछिल्लो दुई वर्षयता दुर्घटनाको जोखिम अत्यन्तै बढेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीको उपस्थिति छ तर दुर्घटना कम भएको छैन ।’
विशेष गरी वीरगन्जको पावरहाउस चोकदेखि एकीकृत सुरक्षा जाँच चौकीको मोडसम्मको सडक खण्डमा अत्यधिक दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना भएपछि क्षतिपूर्तिको माग दाबी गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा रहेकाले सर्वसाधारणलाई थप सास्ती हुने गरेको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकराज भट्टले पछिल्लो समय उक्त सडक खण्डमा बढेको दुर्घटनाको क्रमलाई न्यून गर्न सक्दो प्रयास भएको दाबी गरे । विशेष गरी ग्रामीण भेगबाट वीरगन्जतर्फ मजदुरहरु बढी आउने समय बिहानको ८ देखि १० र साँझको ५ देखि ७ बजेको समयमा उक्त सडक खण्डमा मालवाहक/हेभी सवारीसाधनलाई गुड्नमा रोक लगाइएको उनले बताए ।
‘यो सडक खण्डमा विशेष गरी मजदुरको साइकलको चाप रहने गरेको छ,’ उनले भने, ‘यसबाहेक यो खण्डमा मापसे चेकजाँचको क्रम पनि तीव्र बनाएका छौं, त्यसका प्रभाव पछिल्लो केही महिनामा परेको छ, दुर्घटना कम हुँदै गएका छन् ।’
