रौतहट — रौतहटको इशनाथ नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रको लतमरीबाट सशस्त्र प्रहरीले आइतबार राति अटोमेटिक पेस्तोल र गोलीसहित एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति हतियार तस्कर हुन् वा होइनन् भन्ने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
लतमरीमा रहेका सुनिल होटलमा खाजा खाइरहेका तीन जनाको गतिविधि शंकास्पद देखिएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल (एफओबी) मठियाबाट खटिएको टोली राति साढे ८ बजे त्यहाँ पुगेपछि दुई जना भागेका थिए ।
अर्का एक भारतीय हतियारसहित पक्राउ परेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन् । भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी वसन्तपुर ग्रामपञ्चाय वडा नम्बर ९ का २६ वर्षीय धनञ्जयकुमार झालाई हतियारसहित पक्राउ गरिएको एसपी हुमागाईँले बताए । उनको साथबाट सेमीअटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६७ मिमि ४ राउण्ड गोली बरामद गरेको छ ।
पक्राउ परेका झाले प्रयोग गरेका विआर ०५ बिडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरेर आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइने एसपी हुमागाईंले बताए । 'हतियारसहित पकाउ परेका झाबारे अनुसन्धान हुँदै छ,' उनले भने, 'झा पेसेवर हुन् वा होइनन् भन्ने खुल्न बाँकी छ ।'
