वीरगन्ज — गत असोजमा गण्डक नहरअन्तर्गत तिलावे खोलामाथिको पुलको बीच भागको पिलर भाँचियो । दुवै तर्फबाट पुलको बीच भाग भासिएको चार महिना पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल भत्किएपछि सिँचाइ डिभिजन कार्यालय वीरगन्जले आवागमनका लागि खोलामाथि डाइभर्सन निर्माण गरेको छ ।
तर, डाइभर्सनको बाटोमा अत्यधिक बालुवा र माटोको प्रयोग गरिएकाले सवारीसाधन चलाउन कठिनाइ हुने गरेको स्थानीयले गुनासो गरेका छन् । पर्साको उत्तरी भेगका बासिन्दा सदरमुकाम वीरगन्ज र बारा पुग्न गण्डक नहरको बाटो प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सडक विभागले नहरको बाटो कालोपत्र गरेपछि सवारीको आवागमन अझै वृद्धि भएको छ । पुल भत्किएपछि कतिपय सवारी साधन तिलावे ब्यारेजको बाटो प्रयोग गर्न थालेका छन् । ठूला गाडी ब्यारेजको बाटो प्रयोग गर्न थालेपछि ब्यारेजको संरचना थर्किन थालेको सिँचाइका प्राविधिकले जनाएका छन् ।
सिँचाइ डिभिजन कार्यालयका प्रमुख मनोज पटेलका अनुसार पुल भत्किएपछि तत्काल विभागमा जानकारी गराइएको थियो । ‘विभागका अधिकारीले भत्केको पुल सडक विभागले बनाउने बताएका थिए,’ कार्यालय प्रमुख पटेल भन्छन्, ‘तर, सडकले बनाउने हो कि हैन, अत्तोपत्तो छैन ।’ पुल निर्माणका लागि कार्यालयमा बजेट नरहेको पटेलले बताए । नहरको सरसफाइ र सिँचाइ प्रणाली सुरु राख्नका लागि मात्र बजेट आउने गरेको छ ।
उक्त बाटो प्रयोग गर्दै आएका पर्सागढी नगरपालिका निवासी सरोज यादवले पुल भत्किएपछि पर्साका उत्तरी भेगका बासिन्दाले सास्ती खेप्नुपरेको बताए । ‘बर्खामा तिलावे खोलाको बहाव बढेपछि डाइभर्सन प्रयोग गर्न सकिँदैन,’ उनले भने, ‘समयमै पुल मर्मतसम्भार वा पुनर्निर्माणको निर्णय सरकारले लिनुपर्छ । जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छौँ ।’ हाल संघीय सरकारमा पर्साबाट मात्र तीन/तीन जना क्याबिनेट मन्त्री हुँदा पनि गण्डक नहरको पुल निर्माण नहुनु दु:खद भएको उनले सुनाए ।
नहरका अधिकांश संरचना जीर्ण
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले निर्माण गरी गण्डक नहर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नियमित मर्मतसम्भार नहुँदा यसका अधिकांश संरचना जीर्ण बनेका छन् । गण्डक नहरअन्तर्गत पर्सा र बारमा सानाठूला गरी २२ पुल रहेका छन् । भत्किएको तिलावे खोलाको पुलबाहेक अन्य तीनवटा पुलसमेत जीर्ण अवस्थामा छन् । बाराको फेटा गाउँपालिकामा रहेको बंगरी खोला, वीरगन्ज महानगरपालिकामा रहेको सिर्सिया खोला र जगरनाथपुर गाउँपालिकाको ओरिया खोलामा रहेको पुल जीर्ण छन् । पुल मात्र नभई नहरमा निर्माण भएका अधिकांश ढोका र साइफनसमेत जीर्ण बनेको प्राविधिकले जनाएका छन् ।
सिँचाइका साना सवारी आवागमनका लागि निर्माण गरिएका एप्रोच सडक र पुलमाथि पछिल्लो समय ठूला सवारी साधान चल्न थालेका छन् । एप्रोच सडक अत्यधिक प्रयोग भए पनि त्यसमा रहेका पुलको सामान्य मर्मतसम्भार पनि नगरिँदा झन जीर्ण बन्दै गएका छन् । ‘नहर निरीक्षणका लागि निर्माण भएका पुल सिँचाइका हलुका सवारीको भार थेग्ने क्षमताका छन् । हलुका सवारी मात्र गुड्ने भएकाले पुलका पिलर ५० सेन्टिमिटर गोलाइका छन्,’ एक प्राविधिक भन्छन्, ‘पुलको चौडाइ पनि एकपटकमा एउटा सवारीमात्र पार्न गर्न सक्ने हिसाबले साँघुरो बनाइएको हो ।’
पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने गण्डक नहरको लम्बाइ ८१ किलोमिटर रहेको छ । पर्सादेखि रौतहटसम्म ३१ हजार चार सय हेक्टर जमिनलाई सिञ्चित गर्ने लक्ष्यकासाथ नहर निर्माण गरिएको थियो । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छाड्ने गर्छ ।
