रौतहट — चन्द्रपुर नगरपालिकाले २०७८ माघमा बागमती नदीको गिट्टी, बालुवा, ढुंगा निकासीको ठेक्का लगायो । नदीको दक्षिणी नाकामा चन्द्रपुरले ठेक्का लगाएपछि सर्लाहीको बागमती नगरपालिकाले उठाउनै दिएन । केही परबाट निकासी गर्न थालेपछि चन्द्रपुरलाई अर्को बृन्दावन नगरपालिकाले आफ्नो क्षेत्र भनेर त्यहाँ पनि रोक्ने प्रयास गर्यो । त्यसयता सुरु भएको चन्द्रपुर, बागमती र बृन्दावन नगरपालिकाबीचको सीमा विवाद अझै सुल्झिएको छैन । विवाद मिल्न नसकेपछि चन्द्रपुरले नदीजन्य बस्तुको तीन वर्षदेखि ठेक्का लगाउन सकेको छैन ।
चन्द्रपुरले बागमतीको दक्षिणी नाकामा २०७८ मा १ करोड ८१ लाखमा ढुंगा, बालुवा र गिट्टी निकासी ठेक्का लगाएपछि बागमती र बृन्दावन नगरपालिकाले आफ्नो सीमामा पर्ने नदीमा ठेक्का लगाएको भन्दै विरोध गरेर निकासी गर्न नदिएको हो । बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत थापाले नदीमै पुगेर प्रतिवादसमेत गरेका थिए । जिल्ला प्रशासनले समेत विवाद रोक्ने प्रयास गरेको थियो ।
त्यसयता ठेक्का लगाउन नसकेर आन्तरिक आम्दानी नै प्रभावित भएको भन्दै चन्द्रपुरको कार्यपालिका बैठकमा विरोध हुँदै आएको छ । अहिले विवाद सुल्झाउन चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेको संयोजकत्वमा उपप्रमुख जयमाला चौधरीसहितको समिति बनाइएको छ । समितिले बृन्दावन र बागमती नगरप्रमुखसहित वार्ता गर्ने तयारी भइरहेको चन्द्रपुरका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । ‘सीमा विवादले तीन वर्षदेखि नदीजन्य बस्तु निकासीको ठेक्का लगाउन सकेका छैनौं,’ उनले भने, ‘चाँडै तीनै स्थानीय तहका प्रमुख बसेर विवाद सल्टाउनुहुन्छ ।’ विवाद सल्टाएर ठेक्का लगाउने तयारी गरेको चन्द्रपुरले त्यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रक्रियासमेत अघि बढाइसकेको छ ।
तीनवटा स्थानीय तहले एउटै नदी क्षेत्रलाई आ–आफ्नोमा पर्ने दाबी गर्न थालेपछि बढेको विवाद नसुल्झिएको हो । चन्द्रपुर, बृन्दावन र बागमतीले नदीको पश्चिम क्षेत्रलाई आ–आफ्नोमा दाबी गरेपछि सात वर्षदेखि विवाद हुँदै आएको छ । उक्त क्षेत्रमा तीनवटै नगरपालिकाले उत्खननको ठेक्का लगाउँदै आए पनि कसैले पनि निकासी गर्न पाइरहेका छनैन् । यही कारण नदीजन्य बस्तु निकासीको ठेक्का प्रभावित हुँदै आएको चन्द्रपुर नगर प्रमुख काफ्लेले बताए । ‘सीमा विवाद मिलाउने प्रयासमा छौं । छलफलबाट चाँडै सल्टाउँछौं,’ उनले भने, ‘यसलाई राजनीतिक ईस्यू बनाउनु हुन्न । बसेर समस्याको समधान खोज्नु पर्छ ।’
बागमतीका तत्कालीन नगर प्रमुख थापाले जीपीएस प्रविधिबाट हेर्दा पश्चिम क्षेत्र आफ्नो क्षेत्रमा पर्ने हुँदा कुनै हालतमा उत्खनन गर्न नदिने अडान राख्दै आएका छन् । उनले नदीमा स्काभेटर लगाएर पश्चिमबाट पानी बग्ने बनाएका थिए । पूर्व क्षेत्रबाट बग्दै आएको नदीलाई सामान्य ड्याम र खाडल पारेर पश्चिमतर्फ खोला फर्काएपछि बृन्दावन र चन्द्रपुर नगरपालिकाले आपत्ति जनाएको थियो । त्यसलगत्तै तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोली स्थलगत हेर्न गएका थिए ।
नगर प्रमुख थापाले आफ्नो क्षेत्रबाट नदीजन्य बस्तु उत्खनन गर्न नदिने अडान राखेपछि प्रशासनको टोली त्यत्तिकै फर्किएको थियो । त्यसयताको विवाद सुल्झिएको छैन । बृन्दावन नगरपालिकाले पनि त्यस क्षेत्रमा बर्सेनि गिट्टी–बालुवाको ठेक्का लगाउँदै आएको छ । तर बागमती नगरपालिकाको अवरोधका कारण समस्या भएको नगर प्रमुख विनोद पटेलले बताए । ‘बसेर समाधान निकाल्नुको विकल्प छैन,’ उनले भने, ‘जति लम्बियो, त्यत्ति नै समस्या आउँछ । सीमाजस्तो संवेदनशील विषयमा बसेर समाधान खोज्नु पर्छ । जीपीएसको माध्यमबाट विवाद टुंग्याउनु पर्छ ।’ चन्द्रपुरले ठेक्का लगाएको क्षेत्र बृन्दावनले समेत आफ्नो भनेर दाबी गर्दै आएको छ ।
यता चन्द्रपुर र गुजरा नगरपालिकाको राष्ट्रिय राजमार्ग र उत्तरी क्षेत्रको सीमा विवाद पनि सुल्झिएको छैन । भूगोल नक्सामा चुरेसम्म गुजरा नगरपालिकाको सीमा क्षेत्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘जिओग्राफी इन्फरमेसन सिस्टम’ले देखाएपछि गुजरा र चन्द्रपुरबीच लामो समयदेखि सीमा विवाद छ ।
विवादबीच चन्द्रपुरको भोलनटार, इपिलिघारी र अरुणबस्तीजस्ता गाउँ कुन नगरपालिकामा परेको भन्ने अन्योल छाएको छ । उनीहरू चन्द्रपुर–३ र ४ मा रहेका भए पनि गुजराले पनि आ–आफ्नो दाबीका साथ सीमामा नगरपालिकाको बोर्ड लगाएका छन् । गुजरा नगर प्रमुख सन्तलालप्रसाद चौधरीले पूर्व–पश्चिम राजमार्गको लामाहा क्षेत्रबाट पश्चिमतर्फ धन्सारसम्म आफ्नो क्षेत्र पर्ने दाबी गरे ।
‘संघीय मामिला मन्त्रालयको जिओग्राफी इन्फरमेसन सिस्टमले पनि गुजराको देखाइसकेको छ,’ उनले भने, ‘अब धेरै विवाद निकालेर काम छैन ।’ चन्द्रपुर नगर प्रमुख काफ्लेले तीन दशकदेखि लमाहा–धन्सार खण्ड र उत्तर चुरेक्षेत्र चन्द्रपुर नगरपालिकामा पर्ने हुँदा गुजराले दाबी गर्न उचित नभएको बताए । पूर्व–पश्चिम राजमार्गको लमाह र धन्सार पुलमा गुजराले आफ्नो क्षेत्र भएको बोर्ड राखेको छ भने यसै स्थानका लागि पहिला चन्द्रपुरले पनि बोर्ड राखेको थियो ।
