गढीमाई मेलाको आम्दानी–खर्चमा अनियमितताको आशंका

उपसमितिले लाखौं आम्दानी हातहातमा राखी मूल समितिलाई बुझाएनन् हिसाब

माघ २, २०८१

लक्ष्मी साह

Suspicion of irregularity in income-expenditure of Gadhimai Mela

बारा — महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको व्यवस्थापन ‘गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति’ले गर्दै आएको थियो । संघसंस्था ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको यो समितिसितै मेलाको आय–व्ययको जवाफदेहिता रहन्थ्यो । लाखौं भक्तजन ओइरिने यस मेलामा दर्शनार्थीबाट हुने आम्दानी र खर्च समितिले नै व्यवस्थापन गर्थ्यो ।

मेला व्यवस्थापनको खर्च दर्शनार्थीबाट हुने आम्दानीबाटै हुँदै आएको थियो । त्यसबेला बाहिरी आर्थिक सहयोग थिएन । तर यसपालिको मेला भने महागढीमाई नगरपालिकाले ‘मेला सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१’ बनाई आफ्नो क्षेत्राधिकारभित्र पारेर व्यवस्थापन गर्यो । त्यसका लागि दर्शनार्थीबाट आएको आम्दानीबाहेक प्रदेश र स्थानीय सरकारबाट समेत मेला व्यवस्थापनका लागि बजेट आयो । महागढीमाई नगरपालिका र मधेस प्रदेश सरकारले ५०/५० लाख र विद्युत् प्राधिकरणले बिजुली व्यवस्थापनमा करिब ७५ लाख रुपैयाँ खर्च गरेको थियो ।

मेलाको आम्दानीबारे चासो राखिरहेको नगरपालिकाले मेला व्यवस्थापन गर्न कार्यविधिअनुसार मूल समिति र दर्जनभन्दा बढी उपसमिति बनाई परिचालन गर्यो । तर मेला सकिएको एक महिना बितिसक्दासमेत व्यवस्थापनमा भएको आम्दानी खर्च समितिले गुपचुप राखेका छन् ।

मेला व्यवस्थापनसँगै खर्च र आम्दानी दुरुस्त राख्न जिम्मेवारी दिएको उपसमितिले मूल समितिलाई हिसाब दिन मानेका छैनन् । त्यसैले मूल समितिलाई आय व्यय मिलान र सार्वजनिक गर्न सकस भइरहेको महागढीमाई–१ का वडाध्यक्षसमेत रहेका मूल समितिका उपाध्यक्ष मनोज गुप्ताले बताए । Suspicion of irregularity in income-expenditure of Gadhimai Melaगढीमाई मेला । फाइल तस्बिर

मेला व्यवस्थापन मूल समितिका अध्यक्ष नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव छन् । उनको नाममा खाता सञ्चालन छैन । समितिका महासचिव नरेश जयसवाल, उपाध्यक्ष कैलाश महतो र कोषाध्यक्ष वीरेन्द्र चौरसियाका नाममा खाता सञ्चालन छ । तर उनीहरूले आफूहरूलाई सम्पूर्ण आय र व्यय पूर्ण रूपमा जानकारी नभएको बताए । आय व्यय सार्वजनिक गर्न ढिलाइ भइरहेकाले मेलाका मूल समिति, उपसमितिका अधिकांश पदाधिकारी तथा समितिमा आबद्ध सदस्यहरूले अनियमितता भएको आशंका गर्न थालेका छन् । 

कार्यविधिका बुँदाहरूमा जुनसुकै कुरा उल्लेख भए पनि कुनै आपतकालीन अवस्थामा मूल समितिको निर्णयअनुसार बढीमा १० हजार रुपैयाँसम्म नगद खर्च गरी सोको बिल–भर्पाइ सुरक्षित राख्नुपर्ने व्यवस्था भए पनि त्यसो नभएको कोषाध्यक्ष चौरसियाले बताए ।

‘अधिकांश उपसमितिका व्यक्तिहरूसित हातहात र गोजीमा नगद छ, कसैले हिसाब दिन चाहेको छैन,’ उनले भने, ‘राँगा, परेवा बलि, मनोरञ्जन, नगद र जिन्सी भेटी, पार्किङ ठेक्कालगायतका लाखौं रकम कहाँ कुन अवस्थामा छ भन्ने मूल समितिलाई थाहा छैन ।’ 

चौरसियाको भनाइलाई मूल समितिका उपाध्यक्ष गुप्तासमेत स्वीकार्छन् । ‘आम्दानीको स्रोतमध्येका ती उपसमितिले आफूलाई आम्दानीको लेखाजोखा दिएका छैनन् । त्यसका लागि प्रयासमा छु,’ कोषाध्यक्ष चौरसियाले भने, ‘अब त माघे संक्रान्तिमा लागेको मेलासहितको आम्दानी र खर्च सार्वजनिक गर्ने प्रयासमा छौं ।’

मन्दिरमा आधा दर्जनको संख्यामा ठूला दानपेटिकामा नगद, सुनचाँदी, मुकुट, भारतबाहेक आधा दर्जन देशका विदेशी मुद्रा चढाएको नगद तथा जिन्सी भेटी गिन्ती तथा अभिलेख गर्ने क्रममा फेला परेको थियो । 

कार्यविधिले नगद आम्दानी बैंक दाखिला र जिन्सी आम्दानीको अभिलेख राख्ने भनेको छ । राँगा, परेवा बलि, भेटी, स्टल बिक्री, भीआईपी पूजाबाट आएको आम्दानी बैंक दाखिला नभएको कोषाध्यक्ष चौरसियाले बताए । यी सबै आम्दानीको आन्तरिक ठेक्कामा दिएको थियो ।

प्रत्येक राँगाको ५ सयका दरले शुल्क लिइएको थियो । बलि व्यवस्थापन उपसमितिका प्रेम साहले ८ हजारको हाराहारीमा राँगा बलि दिइएको दाबी गरेका थिए । मेलामा ५० लाखभन्दा बढी दर्शनार्थी मेला भर्न आएको समितिले दाबी गर्दै आएको छ । मनोरञ्जनबाट १ करोड ३३ लाख र पार्किङ ठेक्काबाट आएको ११ लाख बैंक दाखिला भइसकेको समितिका अर्का महासचिव वीरेन्द्र यादवले बताए । भेटी र राँगा बलिको सम्पूर्ण रकम बैंक दाखिला र हिसाब मिलान नभएको उनले बताए ।

समितिमा ५ जना महासचिव थिए । समितिको कार्यावधि कहिले समाप्त हुने भन्ने कतै प्रस्ट छैन । मूल समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख यादवले आयव्यय मिलानकै क्रममा रहेको बताए । उनले सबै आर्थिक कारोबार पारदर्शी र नियमसंगत भएको दाबी गरे । ‘केही तलमाथि छैन, बैंकमा दाखिला भएको रकम रोक्का छ,’ उनले भने, ‘उपसमिति धेरै जनाको भएको र जनही खर्च आम्दानी राखेकाले आम्दानी र खर्च मिलान गर्न ढिलाइ भएको हो ।’

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully