मन्त्रीहरूसहित मधेश प्रदेशका सुरक्षा प्रमुखहरू गोबरगाढामा

पुस २९, २०८१

अवधेशकुमार झा

Security chiefs of Madhesh province along with ministers in Gobargadha

राजविराज — चारैतिरबाट कोशी नदीले घेरिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा टापुमा सोमबार बिहान मधेश प्रदेश सरकारका दुई जना मन्त्रीहरू प्रदेश र जिल्लाका सुरक्षा प्रमुखहरूसहित पुगेका छन् ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी, वन तथा पर्यटनमन्त्री सकिल अली, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डीआईजी कालीदास धौबोजी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलसहितका सुरक्षा अधिकारीहरू गोबरगाढा पुगेका हुन् । 

हनुमाननगर कंकालिनी नगरपालिकाको एउटा वडा भए पनि गोबरगाढामा उच्चस्तरको यो भ्रमण निक्कै पछि भएको हो । प्रदेशका मन्त्रीद्वयसहित सुरक्षा प्रमुखहरूसँग हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीसहित स्थानीय जनप्रतिनिधि र गोबरगाढाबासीहरुले गोबरगाढाको अवस्थाबारे जानकारी गराएका थिए । 

सुरक्षाको हिसाबले गोबरगाढा संवेदनशील रहेको बताउँदै नेपाल प्रहरीको डीआईजी आचार्यले गोबरगाढामा विगतमा रहेको प्रहरी चौकी पुनर्स्थापित गर्न जिल्ला सुरक्षा समितिका अधिकारीहरूसँग कुरा गरिने बताए । उनले तत्काल हनुमाननगर स्थित इलाका प्रहरी कार्यालयबाट कम्तीमा दुई दिनमा प्रहरीको गस्ती गोबरगाढा सम्म गर्न निर्देशन दिने बताए । ‘दुई दिनमा भए पनि हनुमाननगरबाट प्रहरीको टोली गोबरगाढासम्म पुग्न र त्यहाँको वस्तुस्थितिमाथि नजर राख्न जिल्ला प्रहरी नेतृत्वलाई निर्देशन दिँदै छलफल गर्नेछु,’ डीआईजी आचार्यले भने । 

गोबरगाढा तस्करीको नाकाजस्तो रहेको स्थानीयबासीन्दहरुबाट सूचना आएको डीआईजी आचार्यले बताए । तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न जिल्ला सुरक्षा समितिसँग छलफल गरिने आचार्यले बताए । 

कोशीको टापु गोबरगाढाबाट दैनिक रूपमा मदिरा लगायतका वस्तु ठूलो परिमाणमा तस्करी हुने गरेको छ । 

अवधेशकुमार

Link copied successfully