काउलीको भाउ किलोको १० रुपैयाँ मात्र
महोत्तरी — बाक्लो हुस्सु र शीतलहरले तराई मधेशमा उत्पादन भएको तरकारी नोक्सान हुने चिन्तामा छन् । उत्पादित तरकारी बेच्न बजारको चिन्ता छ । दु:खजिलो गरेर उब्जाएको तरकारीले बजार र उचित भाउ नपाएपछि तरकारी कुहिने डरमा सस्तोमै बेचिरहेको गौशाला–३ की किसान गंगा चौधरीले बताइन् ।
तरकारी बेच्न बर्दिबास बजार पुग्ने गरेकी उनले लगानी र ढुवानी खर्चसमेत उठाउन मुस्किल भइरहेको बताइन् । गत शनिबार प्रतिकिलो १० रुपैयाँमा बेचेको काउली आइतबार त्यही भाउमा पनि बिक्री हुन समस्या भएको उनले बताइन् । बीउबिजन, खनजोत, मलखाद, औषधि, परिश्रम जोड्दा काउलीको कुनै मूल्य नपाएको उनले बताइन् ।
बर्दिबास–६ किसाननगरबाट तरकारी बेच्न पुगेका सुनिल सिंह बजारमा तरकारीको भाउ देखेर खेती नै बेकार जस्तो लाग्न थालेको बताउँछन् । ‘महिनौं दु:ख गरेर तरकारी उब्जायो,’ उनले भने,‘फल खानेबेला बेच्नु कl कुहिन दिनु दोधारको अवस्था आइपुग्छ । आफै|ले बेच्दा किलोमा २/४ बढी पाइन्छ । व्यापारीलाई दिने हो भने अझ फालेरै हिँड्न पर्ने भाउ हुन्छ ।’
गत साताको तुलनामा बर्दिबास बजारमा तरकारीको भाउ ४ गुणा सस्तो भएको छ । सातादेखि बजारमा तरकारीले भाउ नपाएको किसान बताउँछन् । गत साता ७० देखि १ सयसम्म बिक्री भएको काउली १० रुपैयाँ किलोमा झरेको छ । कृषि उपज बजार सञ्चालक समिति बर्दिबासका अनुसार गत साता १ सय २० रुपैयाँसम्ममा बिक्री भएको आलु ४०, बन्दा ६० बाट २०, मूला ४० बाट ५, भान्टा ६० बाट २० रुपैयाँ प्रतिकेजीमा झरेको छ ।
अन्य मौसमी तथा बेमौसमी तरकारीको मूल्य पनि यो समय निकै कम भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष बोधबहादुर आलेले बताए । सस्तोमै फालाफाल हुँदा पनि बर्दिबास बजारमा राखिएका झन्डै डेढ सय तरकारीका स्टलबाट दैनिक किसान र व्यापारीले सोचेअनुसार व्यापार नभएको आलेले बताए । ‘मौसमअनुसारको तरकारी उत्पादन निकै बढी छ,’ उनले भने, ‘बजारको माग उत्पादन खपत हुने खालको नभएर भाउ छैन ।’
यतिबेला उत्पादित तरकारीलाई सरकारका तर्फबाट भण्डारण गर्ने व्यवस्था गरिदिन पर्ने आले बताउँछन् । ‘अहिले तरकारी फालाफाल छ, भाउ छैन,’ उनले भने, ‘केहीदिनमै तरकारी कमी हुन्छ अनि भाउ अकाशिन्छ ।’ यसका लागि सरकारले सिजनमा बढी उत्पादन हुने तरकारीलाई भण्डारण गर्ने र माग बढेपछि निकाल्ने गरी व्यवस्थापन गर्न निकै जरुरी रहेको बताए । किसान र व्यवसायी दुवैलाई हित हुने गरी सरकारको नीति बन्नुपर्ने र भण्डारको व्यवस्था हुनपर्ने माग उनले गरे ।
मौसमअनुसारका फलफूल र तरकारीलाई भण्डारण गर्ने उद्देश्यले बर्दिबास नगरपालिकाले निर्माण सुरु गरेको शीतभण्डारण अलपत्र पर्दा किसानको माग सम्बोधन हुन सकेको छैन । बर्दिवास–६, ७ र ८ मा पर्ने मोडेल एग्रो भिलेजभित्र निर्माण अलपत्र परेको भण्डारण गृहलाई बर्दिबास नगरपालिकाले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छैन ।
शीतभण्डारण गृह निर्माणका लागि बर्दिबास नगरपालिकासँग २०७५/०७६ मा सम्झौता पाएको सिनर्जी ज्ञानज्योति जेभीले सम्झौताअनुसारको काम गरेको भने पनि भवनको वाल लगाउने, कभर गर्ने, आवश्यक प्रविधि जडान गर्ने जस्ता गर्नैपर्ने काम भएको छैन । मेयर कृषि कार्यक्रमअन्तर्गत निर्माण सुरु भएको शीतभण्डारण बर्दिबास नगरपालिकाले चाँडो सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ ।
ठेक्का सम्झौताअनुसारको काम भएको भन्दै नगरपालिकाबाट २०७९/०८० मै भुक्तानी लिएको बर्दिबास नगरपालिकाकी लेखा अधिकृत शर्मिलाकुमारी तामाङले बताइन् । ठेक्का सम्झौतामै सम्पन्न गर्ने नभनिएकाले उक्त कम्पनीले गरेको सम्झौताअनुसारको ५ करोड ४२ लाख ३९ हजार ३ सय ६१ रकम पालिकाले भुक्तानी गरेको तामाङले बताइन् ।
