महोत्तरी — महोत्तरीका ९ वटा पालिकाले अत्यधिक चिसो भएको भन्दै विद्यालय बन्द गरेको छ । २३ गते बिहानबाट सुरु भएको शीतलहर र बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि पालिकाहरूले विद्यालय धमाधम बिदा दिन थालेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीले जनाएको छ ।
२३ र २४ गतेको निर्णयमा ९ वटा पालिकाले विद्यालयमा एक हप्ताको जाडो बिदा दिँदै विद्यालय बन्द गरेका समन्वय इकाई प्रमुख रेबिका अमात्यले जानकारी दिइन् । मनरा शिसवा, जलेश्वर, लोहरपट्टी, बलवा, भंगाहा नगरपालिका र सोनमा, महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने भन्दै बन्द भएका पालिकाका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय एक हप्ता बन्द रहने पालिकाहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।
अचानक बढेको चिसो र शीतलहरले जिल्लामा जनजीवन प्रभावित भएको छ ।
