११ वर्षदेखि फरार १० रुपैयाँ बुझाएर रिहा

पुस २१, २०८१

अवधेशकुमार झा

Absconding for 11 years, released after paying Rs

सप्तरी — जिल्ला अदालतले गरेको १० रुपैयाँ जरिवाना नबुझाएर साढे ११ वर्षदेखि फरार रहँदै आएकी एक जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

साबिक डिमन गाविस–३ घर भएकी संयुक्तादेवी देवलाई तीनवटा मुद्दामा १०–१० रुपैयाँ जरिवाना गरिएको साढे ११ वर्षपछि प्रहरीले जरिवाना भराउन आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार दुईवटा किर्ते जालसाजी र एउटा जालसाजी गरी तीनवटा मुद्दामा उनलाई सप्तरी जिल्ला अदालतले १०–१० रुपैयाँ जरिवाना गर्ने फैसला २०७० असार १९ गते गरेको थियो । सो जरिवानाको रकम नबुझाएर देव साढे ११ वर्षदेखि तथ्यांकमा फरार सूचीमा रहेकी थिइन् ।

फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले सुरु गरेको फरार रहेकालाई नियन्त्रणमा लिने अभियानअन्तर्गत उनलाई आइतबार घरबाट नियन्त्रणमा लिई अदालतसमक्ष पेस गरिएको र तोकिएको जरिवाना बुझाएर उनी रिहा भएको डीएसपी बस्नेतले जनाए । 

पछिल्लो समय सप्तरी प्रहरीले सुरु गरेको फरारी नियन्त्रणमा लिने अभियानअन्तर्गत तीन महिनामा दुई सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमध्ये अधिकांश सय रुपैयाँभन्दा कम जरिवाना तोकिएर नबुझाइ फरार रहेकाहरू छन् ।

अवधेशकुमार

Link copied successfully