धनुषा — महोत्तरीको खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीन छात्राले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेका छन् । विष सेवन गर्ने मध्ये २ जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् ।
बर्दीबास नगरपालिका–१० निर्मल लामा बहुप्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा दुई जना फेला परेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
'परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,' प्रहरी नायव उपरीक्षक पोखरेलले भने,‘फेला परेका दुई जनाको अवस्था सामान्य छ । दुवै जनालाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ । तीन जना मध्ये बढी मात्रामा विष सेवन गर्ने छात्राको खोजी भइरहेको छ ।’ तीनै जना किशोरी सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।
खैरमारामा डेरा लिएर अध्ययन गर्दै आइरहेका विद्यार्थीहरूले विष सेवन गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
