शिक्षक/कर्मचारी भ्रमणमा निस्किएपछि ६ दिन विद्यालय बन्द

पुस १६, २०८१

विनय आजाद

School closed for 6 days after teachers/staff leave on tour

सिरहा — यहाँको गोलबजार नगरपालिका-८ चोहर्वामा अवस्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी भ्रमणमा निस्किएपछि ६ दिन विद्यालयको पठनपाठन ठप्प भएको छ । गत हप्ता पुस १० मा विद्यालयको पठनपाठन नै बन्द गरेर भ्रमणमा निस्किएका उनीहरू मंगलबार मात्रै विद्यालयमा उपस्थित भएका छन् ।

वडाध्यक्षसहित देवनारायण महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतो, प्रधानाध्यापक ब्रह्मदेव सिंहसहित विद्यालयका ३० जना शिक्षक र कर्मचारी भ्रमणमा निस्किएका थिए । उनीहरू भ्रमणमा गएको कुरा भने गोलबजार नगरपालिकालाई थाहा छैन ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवोध लामाले विद्यालय बन्द गरेर शिक्षकहरू भ्रमणमा गएको विषय आफूलाई जानकारी नभएको बताए । 'उहाँहरू भ्रमणमा गएको कुरो शिक्षा शाखा र नगरपालिकामा कुनै जानकारी छैन,' उनले भने, 'बिनाजानकारी भ्रमणमा गएका शिक्षक र कर्मचारीमाथि कारबाही हुन्छ ।'

यता, प्रधानाध्यापक सिंहले भने नगरपालिकालाई जानकारी गराएरै भ्रमणमा निस्किएको बताए । 'विद्यालय व्यवस्थापन समितिको निर्णय गरेरै भ्रमणमा गएका हौं,' उनले भने । भ्रमणबाट आफूहरू फर्किसकेको र मंगलबारबाट विद्यालय खुलेको उनले बताए ।

कक्षा १२ सम्म सञ्चालन हुँदै आएको यस विद्यालयमा झन्डै एक हजार विद्यार्थी अध्ययनरत छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully