सीप र रोजगारी नहुँदा दुर्व्यसनमा फसेको युवाको गुनासाे

पुस १४, २०८१

सुनिता बराल

Complaints of youth who are trapped in addiction due to lack of skills and employment

महोत्तरी — लामो समयदेखि लागूऔषध दुर्व्यसनीमा फसेका धनुषाका ३२ वर्षीय युवा नारायण जोगीको सपना अहिले बदलिएको छ । पुनःस्थापना केन्द्रमा उपचार गरेपछि उनको सपना बदलिएको हो ।

‘पैसा कमाएर राम्रो घर बनाउने र परिवारलाई एउटै मालामा उनेर खुसी र सुख दिने चाहना छ,’ उनले भने, ‘लागू औषध दुर्व्यसनीमा परेपछि आफ्नो परिवारमा आएको विखण्डन र भएको जायजेथा सकिएपछि आत्मग्लानिले ज्यादै दुःखी बनाएको छ ।’

महोत्तरीको बर्दिवास–३ स्थित बर्दिवास पुनःस्थापना केन्द्रमा उपचारपछि उनी अहिले घर फर्किन हतारिएका छन् । ‘म काम गरेर खाने मान्छे,’ उनले भने, ‘अब त काममा फर्कनुपर्छ होला ।’

आफूले सताएकै कारण २ छोरीसहित माइती फर्किएकी श्रीमतीलाई फर्काउने र बहिनीको संरक्षणमा रहेका आफ्ना बाबुलाई समेत राम्रो घर बनाएर एकै ठाउँमा राख्ने चाहना रहेको उनले सुनाए । 

युवालाई सीप र रोजगारी दिन नसक्दा आफूजस्ता कैयौँ व्यक्ति दुर्व्यसनीको बाटोमा लागेर जीवन नर्क बनाइरहेको पनि जोगीले बताए । ‘बेरोजगारी, साथीसंगत, सामाजिक वातावरण, आर्थिक विपन्नता, पारिवारिक कलहलगायत कारण मानिसहरू दुर्व्यसनीमा फसेका हुन्,’ उनले भने । 

जोगी यसअघि पनि काठमाडौंस्थित सुधार गृहमा बसिसकेका थिए । तर घर फर्किएपछि काम गर्ने, कमाउने ठाउँ र अवसर नपाएपछि फेरि तनावकै कारण उही साथीसंगीमा सम्पर्कमा पुगेको उनले सुनाए । 

परिवारको एक्लो छोरा दुर्व्यसनीमा परेपछि उनलाई दुर्व्यसनीबाट मुक्त गराउन परिवारले निकै संघर्ष गरिसकेको उनी सम्झन्छन् । बुबाले भएको १३ कट्ठा जग्गा बिक्री गरेर आफ्नो उपचार र सुधार गराउन खर्च गरेको पनि उनले बताए । ‘आफूलाई बदल्छु भन्न पनि वातावरण अनुकूल हुनुपर्ने रहेछ,’ उनले भने, ‘यो देशमा केही गर्छु भन्ने चाहना भएका युवालाई सरकारले केही गर्न नसक्नु दुःखद हो ।’ 

युवाहरूलाई सीपसँगै अवसर दिनुपर्ने जिम्मेवारीबाट राज्य चुकिरहेका कारण देशमा धेरै युवा दुर्व्यसनको लतमा फसिरहेको पनि उनले दुखेसो पोखे । पुनःस्थापना केन्द्रबाट फर्किएपछि धेरै पैसा कमाउन वैदेशिक रोजगारीमा जाने र परिवारलाई एकै ठाउँमा जोडेर राख्ने आफ्नो चाहना भएको उनले बताए । सुधारगृहमा बसेको ४ महिनामा आफूले जीवन फरक तरिकाले जिउने प्रण गरेको पनि उनले सुनाए । मानसिक सन्तुलन समेत गुमाइसकेका जोगीलाई नियमित डाक्टरको रेखदेखमा राखी उपचार गरिरहेकाले उनलाई अझै केही महिना डाक्टरको निगरानीमै राखिने केन्द्रले जनाएको छ । 

जनकपुर घर भएका अर्का युवा चन्दन यादव बुवा वैदेशिक रोजगारीमा रहेकाले बुवाकै चाहनाअनुसार काठमाडौं बसेर पढ्थे । तर जनकपुरमा हजुरआमाको निधन भएपछि डेढ महिना छुट्टीमा जनकपुर बस्नुले उनको जीवनको गोरेटो नै बदलियो । साथीसंगतबाट कुलतमा फसेका उनी पनि अहिले पुनःस्थापना केन्द्र बर्दिवासमै छन् । 

पढाइ बीचमै छाडेर गलत बाटो लागेपछि उनलाई पढाउने खर्च परिवारले अहिले पुनःस्थापना केन्द्रमा उनको सुधारका लागि खर्चिएको छ । आफू गलत बाटोमा लाग्दा आफूभन्दा साना दुई भाइले सही किसिमले शिक्षा लिन नपाएको यादव बताउँछन् । 

सुधार गृहमा लैजानुलाई प्रतिष्ठासँग जोडेर हेर्ने समाजका कारण पनि बाटो बिराएका र गलत संगतका कारण दुर्व्यसनमा फसेका युवा समयमै सुधारगृहसम्म आउन नसकेको उनले बताए । ४ महिना सुधार गृहमा बिताइसकेका यादवले अब केही सीप सिकेर वैदेशिक रोजगारीमा जाने योजना रहेको सुनाए । 

बर्दिवास पुनःस्थापना केन्द्रमा रहेका अधिकांश युवा आफूहरूलाई दुर्व्यसनीबाट मुक्त गराउन सुधार केन्द्रले निकै राम्रो अभ्यास गराइरहेको बताउँछन् । सुधार गृहमा निश्चित समयको उपचारपछि अहिले केन्द्रले नै खोजिदिएको काममा आफू लागेको धनकुटा घर भएका सुनिल खत्रीले बताए । पुनःस्थापना केन्द्रबाट नयाँ जीवन पाएका धेरै युवा केन्द्रकै समन्वयमा कुनै न कुनै काम सिकिरहेका र केही व्यक्ति वैदेशिक रोजगारीमा गएर राम्रो पैसा कमाइरहेको खत्रीले बताए ।

पुनःस्थापना केन्द्रमा बस्दामात्रै नभई उपचार गरी घर–परिवारमा फर्किएपछि व्यक्तिले आफूलाई कसरी व्यस्त बनाउन सक्छन् भन्ने कुरामा जोड दिएर काम सिकाउने गरेको पुनःस्थापना केन्द्र बर्दिवासका अध्यक्ष राम लामाले बताए । २ वर्षअघि संचालनमा आएको पुनःस्थापना केन्द्रमा अहिले ४९ जना दुर्व्यसनीमा फसेका व्यक्ति उपचाररत रहेको केन्द्रले जनाएको छ ।

१३ वर्षीय बालकदेखि ६२ वर्षका वृद्धसम्म हाल केन्द्रमा उपचाररत छन् । पटक–पटक पुनःस्थापना केन्द्रमा फर्किनुपर्ने अवस्था नरहोस् भनेर केन्द्रले उनीहरूलाई सीपमूलक तालिममा सहभागी गराउने, सक्ने काममा लगाउने र उनीहरूले कमाएको पैसा परिवारलाई पठाइदिने गरेको लामाले बताए । 

कम्तीमा चार महिना उपचारमा राख्नुपर्ने भएकाले त्यसपछि अवस्था हेरेर केन्द्रले काममा लगाउन थाल्ने लामाले बताए । अहिले केन्द्रबाट पाँच जनाले ज्याला मजदुरीको काम र चार जनाले गार्डको काम गरिरहेको लामाले सुनाए । पहिला केन्द्रमा बसेको शुल्क पठाउने अभिभावकलाई अहिले केन्द्रले उनीहरूले कमाएको रकम खातामा पठाउने गरेको उनले बताए । 

स्थानीय वडा, नगरपालिकासँग समन्वय गरी गार्ड, प्लम्बर, विद्युत् मर्मत लगायत सीपमूलक तालिमहरू संचाचल गर्ने तयारी भइरहेको लामाले बताए । दुई जना डाक्टर, एक मनोपरामर्शकर्ता, दुई जना शिक्षक र ६ जना कर्मचारीले संचालन गरिरहेको पुनःस्थापना केन्द्रमा महिला पुनःस्थापना केन्द्र छिट्टै संचालन गर्ने योजना रहेको पनि उनले बताए । दुर्व्यसनीमा फसेका महिलालाई अहिले काठमाडौँ, धरान लगायत सहरमा पठाउनु परेकाले मागअनुसार मधेसमै महिला पुनःस्थापना केन्द्र संचालनको तयारी अघि बढाएको उनले बताए ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully