मधेस सरकार बजेट खाने रूपमा चिनियो : एमाले महासचिव पोखरेल

पुस १३, २०८१

सन्तोष सिंह

Madhes government is known as a budget eater: UML General Secretary Pokharel

धनुषा — नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश सरकार बजेट खाने सरकार भएको टिप्पणी गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा शनिबार आयोजित बृहत् कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई मधेशविरोधी पार्टी भन्ने नेताहरूले मधेसलाई विकास हुन नदिएको पनि आरोप लगाए ।

‘मधेसका जनताले संघीयता र प्रादेशिक सरकारको माध्यमबाट मधेसको विकास समद्धिको सपना देखेका थिए तर त्यस्तो हुन सकेको छैन,’ एमाले महासचिव पोखरेलले भने, ‘मधेश सरकारको पहिलो ५ वर्ष जसपाको नाममा खेर गयो । एक प्रकारले भन्ने हो भने मधेस सरकार बजेट खाने रूपमा चिनियो । विकास गर्ने सरकार बनेनन् । विकासका लागि बनेको बजेट बाँडफाट गरी ठूलाठालू मिलेर खाने सरकारका रूपमा मधेस सरकारलाई चित्रित गर्ने काम भयो ।’

प्रदेश सरकारमा एमाले सहभागी भएपछि उपभोक्ताका नाममा बजेट खाने प्रवृत्तिको अन्त्य भएको पनि पोखरेलले दाबी गरे । सरकारको सानो अंश मात्रै पाएको र सरकारको नेतृत्व गर्ने अवसर पाए एमालेले प्रदेशको विकास र जनताको हकमा काम गर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा एमाले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो लगायतका नेताले सम्बोधन गरेका थिए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully