प्रतिस्पर्धा वा उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने विषयमा मधेशका सत्तारुढ दल विभाजित

पुस १२, २०८१

सन्तोष सिंह

The ruling party of Madhesh is divided on the issue of running the scheme through competition or consumer committee

धनुषा — मधेश प्रदेश सरकारको योजना प्रतिस्पर्धी खरिद विधि र उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने विषयमा गठबन्धन दल विभाजित भएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा ठूला विकास निर्माणको काम खुल्ला प्रतिस्पर्धा विधिबाट र साना योजना स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने उल्लेख गरिए पनि सत्ता गठबन्धन दलले उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्न अडान राखेपछि  गठबन्धन दल विभाजित भएका हुन् । 

जनमत नेतृत्वको सरकार मधेश प्रदेशमा गठन भएपछि प्रदेश सरकारको योजना खरिद बिक्री रोक्न, गुणस्तरीय विकास निर्माणको काम गर्न, कमिसनको जालो तोड्न नीति तथा कार्यक्रम र बजेटमै सरकार आयोजनाहरूको कार्यान्वयन गर्दा खुल्ला एवं प्रतिस्पर्धी खरिद विधिको अबलम्बन हुनेगरी व्यवस्था उल्लेख गरेको छ ।

योजना खरिद बिक्री हुने र अनियमितता नियन्त्रण गर्न विनियोजन विधेयकमा प्रतिस्पर्धा विधिबाट योजना सञ्चालन गर्ने उल्लेख गरिएको र अहिले दलका नेताहरूले उपभोक्ता समितिबाट योजना सञ्चालन गर्नुपर्ने अडान राखेको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।

‘नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले शुक्रबार बोलाएको गठबन्धन दलको बैठकमा प्रदेश सरकारको काम कर्तव्यबारे छलफल भयो,’ नेता यादवले भने,‘बैठकमा सरकारका काम कारबाहीबारे छलफल भयो । दलका नेताहरूले साना योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने प्रस्ताव राखे । बजेट मार्गदर्शनमा प्रतिस्पर्धात्मक विधिबाट योजना सञ्चालन गर्नुपर्ने व्यवस्था जानकारी गराएपछि बैठक बिनानिष्कर्ष टुंगियो ।’ बैठकमा कांग्रेस, एमाले, लोसपा र जनमत पार्टीका नेताहरू सहभागी भएको यादवले बताए ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको बुँदा नम्बर २१ मा प्रदेश सरकार आयोजनाहरूको कार्यान्वयन गर्दा खुल्ला एवं प्रतिस्पर्धात्मक खरिद विधिको अबलम्बन हुनेगरी व्यवस्था मिलाइने र लाभग्राही एवं नागरिकको आयोजनाप्रति स्वामित्व र अपनत्व सिर्जना गर्न पारदर्शी कार्यान्वयन प्रक्रिय सहित नागरिक नेतृत्व सहजीकरण संयन्त्र परिचलान गरिने उल्लेख गरिएको छ ।

त्यस्तै  बजेट वक्तव्यको बुँदा नम्बर १४७ मा प्रदेश सरकार अन्तर्गतका निकायहरूले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरू खुला एवं प्रतिस्पर्धी खरिद विधिअनुसार गरिने तथा स-साना सार्वजनिक निर्माणा‍ कार्य गर्नुपरेमा वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तहमार्फत कार्यन्वयन गर्ने नीति लिइने र नागरिकको आयोजनाप्रतिको स्वामित्व, अपनत्वका लागि पारदर्शी कार्यान्वयन प्रक्रियासहित नागरिक नेतृत्व सहजीकरण संयन्त्र परिचालन गरिने व्यवस्था गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले संसद्‍बाट पारित नीति कार्यक्रम र बजेटमा भएको व्यवस्था कार्यन्वयन नगरी उपभोक्ता समितिमार्फत मन्त्रालयको योजना सञ्चालनका लागि उपभोक्ता समितिसम्बन्धी कार्यविधि बनाएको छ । भौतिक मन्त्रालयले बनाएको कार्यविधिलाई अर्थ मन्त्रालयले सहमतिसमेत दिएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully