बारा — पाँच दिनअघि जितपुर सिमरा उपमहानगरपालिका–११ आमाडारमा मृत अवस्थामा फेला परेका प्रहरीको कार्यालय सहयोगी ४० वर्षीय राजकुमार रुम्बाको गोली हानी हत्या भएको पुष्टिसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (निरीक्षक) श्रीकान्त तिवारीलाई निगरानीमा राखेर सोधपुछ गर्दै अनुसन्धान अघि बढाएको हो ।
सिमरा विमानस्थलको प्रहरी युनिटमा कार्यरत प्रहरीको कार्यालय सहगोगी रुम्बा गत शनिबार (पुस ६) गते बिहान वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा आमाडार गाउँको सडक पेटीमा फेला परेका थिए ।
जितपुर सिमरा १७ का रुम्बा वडा नम्बर–१ को सिमरा सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । शुक्रबार राति ९ः३० बजे उनी कार लिएर निस्केका थिए । उक्त निजी कार सिमरा विमानस्थलमै एक वर्षदेखि कार्यरत राष्ट्रिय अनुसन्धानका अधिकृत तिवारीको हो । त्यसैले पहिलो चरणको अनुसन्धान प्रहरीले तिवारीबाटै सुरु गरेको हो । रुम्बा भान्छेको काम गर्दै थिए । उनका दुई श्रीमती र ३ सन्तान छन् । उनी सुकुम्बासीका अगुवा पनि थिए ।
‘कार्यालय सहयोगी रुम्बा र अनुसन्धान अधिकृत तिवारीबीच हिमचिम थियो,’ सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले भने, ‘त्यसैले तिवारीबाटै अनुसन्धान सुरु गरिएको हो । सोधपुछका क्रममा तिवारीले आफूसित कारको साँचो लिएर रुम्बाले कलैया जान्छु भन्दै गएको बताएका छन् ।’
तिवारी प्रहरी हिरासतमा नभए पनि इलाका प्रहरी कार्यालय सिमराकै प्रहरी परिसरभित्रै सम्पर्क र निगरानीमा रहेको उनले बताए । अरु कोही पक्राउ नपरेको उनले बताए । ‘घटना रहस्यमय छ, विस्तृत अनुसन्धान हुँदैछ,’ उनले भने, ‘केही दिनमै सबै खुल्छ ।’
रुम्बा मृत अवस्थामा फेला परेको चौथो दिन वीरगन्ज नारायणी अस्पतालमा पोस्टमार्टम भएपछि टाउकोमा नजिकैबाट एक गोली हानी हत्या गरिएको पुष्टि भएको ती उनले बताए । रुम्बाको मृत्यु रहस्यमय भएको भन्दै घटनाको विस्तृत अनुसन्धान गर्न मृतकका परिवार, आफन्त र गाउँलेले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै धर्नामा बस्दै आएका थिए । प्रहरी र मृतक पक्षबीच वार्ता भएर पोस्टमार्टम भएको थियो । प्रहरीले हत्यामा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै मृतक पक्षबाट अझै विरोध भइरहेको छ ।
