उमेर नपुग्दै जन्मिएका सन्तानको जन्मदर्ता गर्नै सकस
सप्तरी — खड्ग नगरपालिका–११ ननकारकी मञ्जुदेवी राम ३५ वर्षकी भइन् । १६ वर्षकै उमेरमा विवाह गरेकी उनका ७ छोरी छन् । श्रीमान् टुनटुन राम वैदेशिक रोजगारीका लागि कतारमा छन् । उनकी १७ वर्षकी छोरी पूजा र १५ वर्षकी सन्तोषीले बीचमै पढाइ छोड्नुपर्दा मञ्जुका पछिल्ला दुई वर्ष तनावमा बिते । पढाइ छोड्नुको एउटै कारण थियो– उनीहरूसित जन्मदर्ता थिएन ।
मञ्जुलाई घरमा छोरीहरूले जन्मदर्ता बनाइदेऊ भनेर दिनहुँ गर्ने कचकचका साथसाथै वडा कार्यालयमा जाँदा कागजात नपुगेको भनेर फर्किंदाको हैरानी पनि उत्तिकै थियो ।
श्रीमान् टुनटुनले कतारबाट पैसा पठाउने बेलामा मात्रै मञ्जुलाई थाहा भयो– नागरिकता चाहिँदो रहेछ । मञ्जुको नागरिकता नहुँदा टुनटुनले अरूका नाममा पैसा पठाउनु परेको थियो । त्यसपछि मञ्जुले २० वर्षमा विवाह भएको भन्दै नागरिकता बनाइन् । यही कानुनी छिद्र वडा कार्यालयले समाएर उनका ७ छोरीलाई जन्मदर्ता दिन इन्कार गरिरहेको हो ।
‘मेरो नागरिकता बन्नुअघि दुई छोरी जन्मिएको भन्दै वडा कार्यालयले जन्मदर्ता दिन मानेन,’ मञ्जुदेवीले भनिन्, ‘घरमा छोरीहरूले पढ्छु, जन्मदर्ता बनाइदेऊ भनेर कचकच गर्थे । सबै प्रयास गर्दा पनि जन्मदर्ता बनेन । निराश भएर घरमा बसे ।’
सप्तरी डाक्नेश्वरीको हीरा माविमा कक्षा ८ मा पढ्ने मञ्जुकी दोस्री छोरी सन्तोषीसँग दुई वर्षअघि रजिस्ट्रेसनका लागि जन्मदर्ता मागियो । उनी स्कुल सकेर घर फर्किएर आमा मञ्जुदेवीलाई ‘सरले जन्मदर्ता माग्नु भएको छ’ भनेर सुनाइन् ।
स्कुलले ताकेता गरेपछि मञ्जु भने थातथलो रहेको सप्तरीकै शम्भुनाथ नगरपालिका–५ को वडा कार्यालय पुगिन् । जन्मदर्ताका लागि मञ्जुदेवीले आफ्नो नागरिकता दिँदा दुई छोरी पूजा र सन्तोषी नागरिकता बनाउनुअघि नै जन्मिएको देखिएपछि वडा कार्यालय जन्मदर्ता बनाउन हच्किएको हो ।
‘सानै उमेरमा विवाह भएकाले २० वर्ष नपुग्दै मेरा दुई छोरी जन्मिए । विवाह दर्ता त २० वर्षमा हुने हो,’ मञ्जुदेवीले भनिन्, ‘छोरीहरू जन्मदर्ताबाट बञ्चित हुने अवस्था आयो । सबैतिर हारगुहार गरे, दुई वर्ष तनावमा बित्यो ।’ सन्तोषीलाई भने स्कुलको सम्झनाले झस्काइ रहन्थ्यो । ‘कहिलेकाहीं त साथीसँग गइदिन्थेँ स्कुल,’ सन्तोषीले भनिन्, ‘तर, सरले जन्मदर्ता नभए पढाइमा समस्या हुन्छ भनेर फर्काइदिनु हुन्थ्यो । आमालाई आएर भन्थेँ । खाना खाइदिन्नथेँ । मलाई पढ्नु थियो । जन्मदर्ता थिएन ।’
सेभ द चिल्ड्रेनले सवल नेपालको सहकार्यमा सप्तरीको खड्ग र सुरुङ्गा नगरपालिकामा बालबालिकाको तथ्यांक राख्छ । सवल नेपालका अधिकृत निरञ्जन यादवका अनुसार जन्मदर्ताका कारण धेरै बालबालिका पढाइबाट बञ्चित रहेको पाइएपछि पहल थालिएको हो ।
‘धेरै डकुमेन्ट मागियो । सरजमिन गर्न स्थानीयले मानेका थिएनन् । सम्झाइ–बुझाइ तीन लटमा मञ्जुदेवीको सातै छोरीको जन्मदर्ता बनाउन सकियो,’ यादवले भने । मञ्जुदेवीकी जेठी छोरी पूजा कक्षा ५ सम्म मात्र पढेकी छन् । उनी आमालाई अहिले घरायसी काममा सघाउँछिन् । उनको सीपमूलक तालिम लिएर रोजगारी गर्ने इच्छा छ ।
‘सानै उमेरमा विवाह गरें, दुःख गरेर छोरीहरू पालेँ,’ मञ्जुदेवीले भनिन्, ‘पूजाको २० वर्ष नपुगी विवाह गर्दिनँ ।’ मञ्जुदेवीकी माहिली छोरी सन्तोषी भने कक्षा ८ मा पढ्दै गर्दा जन्मदर्ताका कारण दुई वर्ष पढाइ रोकिएको थियो । जन्मदर्ता बनेपछि सन्तोषी हर्षित हुँदै स्कुल पुगिन् र भनिन्, ‘सर, लिअ हमर जन्मदर्ता ।’
सन्तोषी कक्षा ८ मै फेरि पढ्न थालेकी छन् । मञ्जुदेवीकी साइँली छोरी वर्ष १४ की कल्पना राम कक्षा ६ मा, काहिँली छोरी ८ वर्षीया ममता राम कक्षा ४ मा, ठाहिँली छोरी वर्ष ६ की शिवानी राम कक्षा २ मा, ठूलीकान्छी वर्ष ५ की रानी राम र कान्छीछोरी वर्ष ४ की तनुकुमारी राम कक्षा १ मा पढ्छिन् ।
सप्तरीको खड्ग र सुरुङ्गा नगरपालिकामा पछिल्लो अवधिमा जन्मदर्ता नहुँदा र अन्य कारणले ३ सय ४२ जना बालबालिका पढाइबाट बञ्चित रहेको पाइएको सवल नेपालका अधिकृत यादवले बताए ।
