शैक्षिक भ्रमणको बचत रकमबाट शैक्षिक सामग्री वितरण

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Distribution of educational materials from savings from educational tours

बर्दिबास — बर्दिबास नगरपालिका-१ स्थित श्री पञ्चधुरा आधारभूत विद्यालयका विद्यार्थीलाई बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीले शैक्षिक र खेलकुद सामग्री वितरण गरेका छन्। बीएड तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणका लागि छुट्याइएको रकम बचत गरी सोमबार यी सामग्री विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रम बर्दिबास जनता बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद खनालको नेतृत्वमा सम्पन्न भएको हो। यस अवसरमा १८ जना विद्यार्थीको सक्रिय सहभागिता थियो।

विद्यालयका प्राचार्य श्याम पौडेलले सामग्री वितरणजस्तो उत्कृष्ट सामाजिक कार्यले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीको शिक्षाप्रतिको झुकाव बढ्ने बताउँदै खुसी व्यक्त गरे। कार्यक्रम संयोजक सुजिता पोखरेलले साना भाइबहिनीले नयाँ कापी र कलम प्राप्त गर्दा उनीहरूको अनुहारमा देखिएको खुसीले सबैको मन छोएको बताइन् । फजुल खर्च गर्ने प्रवृत्तिलाई कम गरी यस्ता सामाजिक कार्यमा विद्यार्थीलाई सहभागी गराउन सके समाजमा सकारात्मक संस्कारको विकास हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताइन् ।

बिहानी प्रार्थनाको समयमा सम्पन्न यस कार्यक्रममा श्री पञ्चधुरा आधारभूत विद्यालयका विद्यार्थीले आफ्नो प्रतिभासमेत प्रदर्शन गरेका थिए।

कान्तिपुर

Link copied successfully