राजविराज — निर्माण सुरु भएको सात वर्षमा पनि सप्तरीको राजविराज बसपार्क संचालनमा आउन सकेको छैन । २०८० वैशाख १ गतेबाट आंशिक रूपमा भए पनि संचालनमा ल्याउने भनिएको उक्त बसपार्क २०७४ पुसमा निर्माण सुरु गरिएको हो ।
चौथोपटकको शिलान्यासपछि निर्माण सुरु भएको राजविराज बसपार्कको निर्माण कार्यबारे पाँचपटक म्याद थप भइसक्दा पनि काम पूरा हुन नसकेपछि राजविराज बसपार्क संचालनमा आउन नसकेको हो ।
राजविराज नगरपालिका–२ राजदेवी चोक नजिक राजविराज बसपार्कको निर्माण थालिएको हो । ८५ प्रतिशत निर्माण कार्य सकिएको बताइए पनि थोरै कामका लागि अल्झाएर राखिँदा बसपार्क निर्माण सम्पन्न हुन नसकी संचालनमा आउन नसकेको हो । ठेक्का रकमको ७५ प्रतिशत ठेकेदार कम्पनीलाई भुक्तानी भइसकेको छ । बसपार्क संचालनमा आउन नसक्दा अहिले राजविराजका मुख्य सडकमै बसहरू पार्किङ गरेर राखिने र त्यहींबाट बसहरू संचालन हुने गरेको छ । मुख्य सडक र चोकबाटै बसहरू संचालन हुँदा ट्राफिक व्यवस्थापन अव्यवस्थित भएको छ भने नगरको स्वरूप पनि कुरूप बनाएको छ ।
राजविराज–२ मा व्यवस्थित बसपार्क निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले गरेको टेन्डर अनुसार २०७४ पुस १९ गते सम्झौता भएको थियो । आयोजनाका इन्जिनयर राजकुमार मिश्रका अनुसार भ्याटबाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रूपैयाँमा सिनर्जी बिल्डर्स प्रालि कुलेश्वर काठमाडौंले उक्त ठेक्का लिएको र २०७७ पुस १८ गतभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो ।
तर पहिलोपटक तोकिएको म्यादभित्र निर्माण कार्य पूरा हुन सकेन । इन्जिनियर मिश्रका अनुसार पटक–पटक गरी पाँचपटक म्याद थप भइसकेको छ । पाँचौंपटक थपिएको म्याद २०८१ पुस २७ गते सकिंदैछ । यसअघि पनि पटक–पटक निर्माण कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न गर्न पत्राचार गर्दै आएको र पछिल्लो समय पाँचौंपटक तोकिएको म्यादभित्र जसरी भए पनि काम सम्पन्न गर्न भनिएको इन्जिनियर मिश्रले बताए ।
शिलान्यासमाथि शिलान्यास हुँदै निर्माणको अन्तिम चरणमा रहेको राजविराज बसपार्क सधैं चुनावी मुद्दा, प्रतिबद्धता र आश्वासनकै सेरोफेरोमा रहँदै आएको छ । हदबन्दीमा परेको जमिन्दारको जग्गा सरकारी नाममा आएपछि २०४४ सालमा उक्त जग्गामा वीरेन्द्र हरित उद्यान निर्माणका लागि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए ।
हरित उद्यान निर्माण हुन नसकेपछि प्रजातन्त्र पुनःस्थापनापछि २०५२ सालमा तत्कालीन नगर प्रमुख शैलेश चौधरीको सक्रियतामा उक्त स्थानमा बसपार्क निर्माण गर्ने भन्दै कार्य अघि बढेको थियो । तर त्यसपछि पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । वि.सं. १९९७ मा राजविराज नगर बसाइए पनि यहाँ बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कको अभावमा सडकमै बसपार्क बनाइँदा नगरको सौन्दर्यमा समेत नकारात्मक प्रभाव पर्नुका साथै सडकजामकै स्थिति सिर्जना हुँदै आएको छ ।
बसपार्क निर्माण गर्ने उद्देश्यले चौथोपटक २०७४ पुस १९ गते सम्झौता भई तत्कालीन नगर प्रमुख शम्भुप्रसाद यादव र सहरी विकास मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्माले २०७४ माघ २६ गते गरेको शिलान्यासपछि सहरी विकास मन्त्रालयको बजेट सहयोगमा बसपार्क निर्माण अघि बढेको थियो ।
