धनुषा — महोत्तरीको साढामा हतियारधारी डाका समूहको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मनराशिसवा नगरपालिका–४ साढामा डकैत समूहको आक्रमणबाट ७० वर्षीय सुशिल झाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए ।
डाका समूह झाको घरमा पसेर सुनको मंगलसुत्र र औठी लुटपाट गर्न खोज्दा झाले प्रतिकार गरेका थिए । प्रतिकार गरेका झालाई घाँटी थिचेर हत्या गरिएको प्रहरी नायव उपरीक्षक जैसवारल बताए ।
घरमा पत्नीसँग बस्दै आएका झाको घरमा ५/७ जनाको समूहमा हातहतियार सहित आएका डाकाहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
डाका समूहले गहनासंगै ८० हजार रुपैयाँ नगद लुटेर लगेको छ । डाकाहरुको आक्रमणमा मृत्यु भएका झाको शव अहिले घटनास्थलमै रहेको छ । डाकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
