ठाकुरराम बुहुमुखी क्याम्पसमा कर्मचारीको धर्ना

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Staff sit-in at Thakurram Buhumukhi campus

वीरगन्ज — ठाकुरराम बहुमुखी क्याम्पसमा त्रिभिुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघ क्याम्पस इकाई समितिले बिहीबार तेस्रो दिन पनि धर्ना कार्यक्रम जारी राखेको छ । पाँचवटा मागहरू राखी समितिले मंगलबारदेखि धर्ना सुरु गरेको इकाई अध्यक्ष किशोरी चौधरीले बताए ।

‘सहायक लेखापाल बुधन मुखियाको काज सरुवा फिर्ता गरियोस्, ४० प्रतिशत अतिरिक्त पारिश्रमिक सबै कर्मचारीलाई उपलब्ध गराइयोस्, १० जना आन्तरिक करार कर्मचारीलाई स्केलअनुसार तलबको व्यवस्था गरियोस्, क्वार्टरको मर्मत नहुन्जेलसम्म भाडा लिन बन्द गरियोस् र ‘क’ श्रेणीको क्याम्पस भएकोले लेखा नियन्त्रकको व्यवस्था गरियोस्,’ जस्ता माग राखी तीनदेखि क्याम्पसको मुख्य गेटमा त्रिवि कर्मचारी संघ क्याम्पस इकाई समिति धर्नामा बसेको हो । दैनिक १० बजेदेखि दुईबजेसम्म धर्नामा बस्दा पठनपाठनबाहेकका काम प्रभावित बनेको छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको इकाई समितिले क्याम्पस प्रशासन र कर्मचारी एकाई समितिबीच सहमित नहुँदा क्याम्पसको पठनपाठनबाहेकको अन्य कामकाज विगत केही दिनदेखि ठप्प हुन जाँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राध्यापक संघका अध्यक्ष डा.प्रमोद कुशवाहाले जारी गरेको विज्ञप्तिमा क्याम्पस प्रशासनलाई सम्बन्धित पक्षसँग अभिलम्ब वार्ता गरि समस्या समाधान गर्न अपिल गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully