रौतहट — रौतहटको गौर नगरपालिकाभित्र विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
गौर–५ का १७ वर्षीय रोहितकुमार रामले छिमेकी उमेशकुमार साहको ना २ छ ६६८५ नम्बरको ई–रिक्साबाट ब्याट्री कन्ट्रोलरसहित सामानहरु चोरी गरेको आरोपमा शुक्रबार मध्यरातमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका प्रहरी निरीक्षक उमाशंकरप्रसाद गुप्ताले जनाए । प्रहरी निरीक्षक गुप्ताका अनुसार पक्राउ परेका रामले ब्याट्री कन्ट्रोलर १ थान, १८० एएमएचको ब्याट्री– १ थान र एफएम रेडियो सेट–१ थान चोरी गरेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका रामले गौर–५ का अशोक साहको घरबाट पानी तान्ने मोटर र वडा नम्बर ४ डेरा लिई बस्ने टुनटुनकुमार गुप्ताको घरबाट रेन्जर साईकल–१ थानसमेत चोरी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । राममाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुप्ताले बताए ।
