जनकपुर — मधेस प्रदेश सरकारले रौतहट र सर्लाहीका ८ पालिकामा सुरक्षित किशोरी अर्थात् ‘सेफ गर्ल्स’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । किशोरीको क्षमता अभिवृद्धि, लैंगिक हिंसाको रोकथाम र यौनिकता शिक्षामा केन्द्रित रहेको सेफ गर्ल्स कार्यक्रम चार वर्षसम्म सञ्चालन गरिनेछ ।
प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले मंगलबार जनकपुरमा कार्यक्रम आयोजना गरेर सेफ गर्ल्स कार्यक्रमको शुभारम्भ गरेको हो । खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेस प्रदेश सरकार महिला, किशोरी र बालिकालाई लक्षित गरेर थुप्रै कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।
‘बेटी पढाऔं, बेटी बचाऔं, छोरी बिमालगायतका कार्यक्रम सञ्चालनमै छ,’ मन्त्री जयसवालले भने, ‘बेटी जिन्दावाद अभियान पनि सुरु गर्दैछौं । सेफ गर्ल्स कार्यक्रमले मधेसका किशोरीहरूले भोगिरहेको समस्या हटाउनेछ ।’ उनले किशोरी र महिला शिक्षित, जागरुक र सुरक्षित नभएसम्म समाजको विकास सम्भव नरहेको पनि बताए ।
दातृ निकाय संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए), गुड नेवर्स इन्टरनेसन र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा मधेस प्रदेश सरकारले सेफ गर्ल्स कार्यक्रमका लागि ४ वर्षमा २ मिलियन डलर खर्च गर्नेछ । यूएनएफपीएका मधेस प्रदेश संयोजक नरेन्द्र मिश्रले किशोरी तथा युवतीका लागि सुरक्षित र सहयोगी वातावरण बनाउन सेफ गर्ल्स कार्यक्रम ल्याइएको बताए ।
सेफ गर्ल्स कार्यक्रम शुभारम्भ समारोहमा कोइकाका निर्देशक मुहेन कङ र यूनिएफपीएकी आवासीय प्रतिनिधि वोन यङ हङले किशोरी र महिलासँग जोडिएको समस्या नेपालका अरु प्रदेशभन्दा मधेसमा बढी रहेकाले ती सबै समस्याको निराकरणका लागि सेल्फ गर्ल्स कार्यक्रमले सहयोग पुर्याउने बताए ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले शिक्षाकै कारण महिला र किशोरीले विभेद, हिंसा र समस्या भोगिरहेको तर्क गरे । ‘शिक्षामा लगानी बढाए मात्र महिला र किशोरीसँग जोडिएका समस्या हल हुनेछन्,’ शिक्षामन्त्री तिवारीले भनिन् ।
