पटक–पटक म्याद थप, तर पनि अधुरै छ अस्पताल भवन

मंसिर १९, २०८१

अवधेशकुमार झा

The deadline has been extended time and time again, but the hospital building is still incomplete

राजविराज — निर्माण कम्पनीको लापरबाहीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भवनको निर्माण कार्य तोकिएको समयमा पूरा हुन सकेको छैन । पटक–पटक गरी चारपटकसम्म म्याद थप हुँदा पनि अस्पताल भवन निर्माण हुन नसकेको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजमार्फत भइरहेको अस्पताल भवन र कार्डियाक सेन्टर भवन निर्माणको कार्य अल्झिएको हो । अस्पताल भवनहरू निर्माणका लागि दुईवटा टेण्डर भएको थियो । 

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजका अनुसार २०७५ पुस १६ गते अस्पताल भवन निर्माणका लागि कन्टेक/जेयी जेभीसँग सम्झौता भएको थियो । भ्याटबाहेक ३१ करोड ६ लाख २० हजार १ सय ४७ रुपैयाँ ८५ पैसामा सकार भएको सो टेण्डर सम्झौताअनुसारको कार्य २०७८ असार १५ गतेसम्म सम्पन्न भइसक्नुपर्ने हो । 

तर सम्झौताअनुसार तोकिएको म्यादभित्र निर्माण कम्पनीले काम गर्न सकेन । त्यसपछि पटक–पटक गरी चारपटक म्याद थप भइसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्यादको अन्तिम समय २०८१ पुस २९ गतेसम्म रहेको छ । यो निर्माण कार्यमा भौतिक प्रगति ९० प्रतिशत भइसकेको भए पनि काम पूरा गर्नेतर्फ निर्माण कम्पनीको तदारुकता देखिएको छैन । यो ठेक्काको ८० प्रतिशत रकम ठेकेदारलाई भुक्तानी भइसकेको छ । 

यस्तै हविगत छ, गजेन्द्रनारायण अस्पतालमै निर्माण भइरहेको ७५ शय्या क्षमताको भवन र कार्डियाक सेन्टर भवनको पनि । २०७८ असार २४ गते भएको सम्झौताअनुसार भ्याट बाहेक १५ करोड २६ लाख ९३ हजार ३ सय ५० रुपैयाँ ८० मा यी भवनहरू २०८० साल असार २३ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । तर यी भवनहरू पनि ठेकेदारको लापरबाहीका कारण तोकिएको समयमा निर्माण हुन सकेका छैनन् । दुईपटक म्याद थप हुँदा पनि यी भवनहरूको निर्माणको पूर्णता अझै अनिश्चित छ । 

यी योजनाहरूमा पटक–पटक म्याद थप्दै जाने र थपिएको समयमा पनि निर्माण कार्यले पूर्णता नपाउँदा आयोजना नै ओझेलमा परेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले पटक–पटक ताकेता गरेको बताइए पनि ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन नसक्दा निर्माण कार्य अधुरै रहन गएको सरोकारवालाको भनाइ छ ।

सघन सहरी भवन निर्माण आयोजनाका इन्जिनयर राजकुमार मिश्राले ठेकेदार कम्पनीलाई समयमै काम सक्न पटक-पटक ताकेता गरिरहेको बताए । गजेन्द्र नारायण अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले नयाँ भवन निर्माण नहुँदा अस्पतालमा समस्या बेर्होनु परिरहेको बताए । अपरेसन थिएटर पुरानो भवनमा साँघुरो रहेको र नयाँ भवन निर्माण भए समाधान हुने बताए ।

गजेन्द्रनारायण अस्पतालमा दैनिक कम्तीमा १० वटा शल्यक्रिया हुने गरेको छ । अहिले एचडीयू पनि १२ वेडको मात्र हुँदा क्रिटिकल बिरामीहरु थपिँदा समस्या भइरहेकामा नयाँ भवन निर्माण भएर ठाउँ बढाउन सके एचडीयू सेवा पनि प्रभावकारी हुने मेसु तिवारीले बताए ।

पछिल्लो समय बिरामीको चाप बढेकाले ओपीडीमा स्थान अपर्याप्त रहेकामा नयाँ भवन समयमै निर्माण भए ओपीडी पनि व्यवस्थित हुने तिवारीले बताए । मेसु तिवारीका अनुसार गजेन्द्रनारायण अस्पतालमा अहिले स्थान र उपकरण अभावमा ८ वटा डायलासिस मात्र हुँदै आएकामा नयाँ भवन निर्माण भए डायलासिस सेवा बढाउन सकिनेछ ।

१ सय ५० वेड संचालन रहेको अस्पतालको भवन पुरानो भएकाले सफाइ र सहजता नभएका कारण  नयाँ भवन निर्माण भए व्यवस्थित गर्न सकिने उनले बताए । चिकित्सक र नर्सिङ्ग स्टाफको आवास निर्माणसमेत यसै योजनामा रहेकाले निर्माण नहुँदा चिकित्सक र स्वास्थ्यकर्मी बाहिर बस्नुपर्ने समस्या रहेको मेसु तिवारीले सुनाए ।

 

अवधेशकुमार

Link copied successfully