सिरहा — सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजारमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । खाल्डोमा परेर स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु भएको हो ।
स्थानीयका अनुसार, आइतबार बिहान पौने ९ बजेको समयमा हातेकलमा पानी लिएर फर्किने क्रममा चिप्लिएर उनी छेउमै रहेको खाल्डोमा लडेकी थिइन् । पानीमा डुबिरहेको देखेपछि आफन्त र स्थानीयले मिर्चैयास्थित मिर्चैया अस्पताल लगेकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।
स्थानीयका अनुसार, नगरपालिकाले नाला निर्माण गर्ने भन्दै एक वर्षअघि खाल्डो खनेको थियो । नगरपालिकाकै लापर्बाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन् ।उनीहरू अहिलेसम्म शव बुझेका छैनन् । नगरपालिका र ठेकेदारलाई कारबाही हुनुपर्ने तथा क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ । 'यो घटना नगरपालिका र ठेकेदारको लापर्बाहीले भएको हो,' मृतक महिलाका श्रीमान् जीवछ महतोले कान्तिपुरसित भने, 'दुवैलाई कारवाही र क्षतिपूर्ति दिनुपर्छ ।'
