मिर्चैयामा दोहोरिरहने डुबान : ढल-नाला निर्माणमा ३७ करोड खर्च, डुबान उस्तै

असार २७, २०८१

विनय आजाद

Recurring flooding in Mirchaiya: 37 crore spent on construction of sewers, flooding remains the same

सिरहा — सुस्त गतिमा भइरहेको पूर्वपश्चिम राजमार्ग विस्तारका कारण धुवाँधुलोले आक्रान्त रहँदै आएको जिल्लाकै पुरानो र मुख्य व्यापारिक केन्द्र मिर्चैया अहिले डुबानको समस्याले ग्रस्त छ । निरन्तरको झरीले मिर्चैयाका विभिन्न स्थानमा पानी जमेको छ । घर र पसलमा पानी पस्दा स्थानीय र व्यापारी मारमा परेका छन् ।

मिर्चैयामा डुबानको समस्या वर्षौंदेखि छ । जसका कारण यहाँका बासिन्दा वर्षेनि आर्थिक र भौतिक क्षति व्यहोर्दै आएका छन् । ‘पसलमा पानी पस्छ, घरमा पनि पस्छ,’ उनले भने, ‘पानीले भिजेर सरसामान बर्बाद हुन्छन्, डुबानका कारण मान्छे लड्ने, गाडी दुर्घटना हुने त स्वभाविकै नै भइहाल्यो ।’ डुबानको समस्या समाधानका लागि मिर्चैयामा पटक पटक साना र ठूला बजेट गरी ३७ करोड बढी खर्च भइसक्यो । तर, डुबानको समस्या भने यथावतै छ । 

डुबानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि पछिल्लो पटक झण्डै साढे ३६ करोड लागतमा सतह ढल निर्माण भएको भयो । एसियाली विकास बैंक (एडीबी), खानेपानी तथा ढल निकास विभाग र मिर्चैया नगरपालिकाको साझेदारीमा ३६ करोड ३३ लाख ६१ हजार पाँच सय ७१ रुपैयाँको लागतमा सतह ढल निर्माण भएको छ ।

यसमा नगरपालिकाको १५ प्रतिशत बजेट थियो भने बाँकी ८५ प्रतिशत रकम एडीबीको थियो । पूर्व–पश्चिम राजमार्गको मिर्चैया खण्डमध्ये पश्चिममा जीवा खोलादेखि पूर्वमा बतहा खोलासम्म सडकको दुवैतर्फ र कटारी चोकदेखि उत्तरमा खानेपानी कार्यालयसम्म सतह ढल निर्माण तथा कटारी चोकदेखि मटियर्वा चोकसम्म नाला गरी साढे ६ किलोमिटर ढल निर्माण भएको छ ।

Recurring flooding in Mirchaiya: 37 crore spent on construction of sewers, flooding remains the same

सतह ढल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी बीकोई बिल्डर्स योगी जेभीले २०७६ माघ २० गतेदेखि काम सुरु गरी एक वर्षमै सक्नुपर्ने काम दुई पटक म्याद थपेर २०७९ असोजमा सम्पन्न गरेको थियो । मिर्चैयाका बासिन्दाले यसको निर्माणपछि मुख्य समस्याको रुपमा रहँदै आएको डुबानबाट सधैंका लागि पार पाउने सोचेका थिए । तर, स्थानीयले सोचेको जस्तो भएन ।

कतिपय स्थानमा काम गरेको भए पनि सतह ढलबाट अधिकांश स्थानको पानी निकास नै हुन सकिरहेको छैन । ‘यत्रो ठूलो बजेटको काम सुरु भएपछि हामी निकै खुशी थियौं,’ स्थानीय राजकिशोर साहले भने, ‘यसले डुबानको समस्या अन्त्य गर्ला भन्ने लागेको थियो, तर अहिले पनि अवस्था उस्तै छ ।’ मापदण्ड र सम्झौता अनुसार नभई सम्बद्ध र नियामक निकायहरुको मिलेमतोमा मनलाग्दी कमसल काम भएकोले सतह ढल काम लागेको नदेखिएको उनको भनाइ छ ।

मिर्चैयाका शुभेष यादव पनि उनकै भनाइमा सहमति जनाउँछन् । ‘डुबानको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने हिसाबले नै त्यत्रो सरकारी रकम खर्चिएको हो,’ उनले भने, ‘तर, काममा कम अनि जनप्रतिनिधि, कर्मचारी र ठेकेदारको गोजीमा धेरै रकम गएपछि यस्तो हुनु स्वभाविक नै थियो ।’

यहाँ नाला र ढल निर्माणका नाममा व्यापक अनियमितता भएको भन्दै यसको छानबिन र त्यसमा संलग्नलाई कारवाही गर्न माग पनि स्थानीयले गरेका छन् । ‘यसमा करोडौं घोटाला भएको छ,’ स्थानीय रामेश्वर महतो भन्छन्, ‘यो वर्षाले झन् अनियमितता प्रमाणित गरिदियो, यसको सूक्ष्म छानविन गर्न आवश्यक छ ।’

Recurring flooding in Mirchaiya: 37 crore spent on construction of sewers, flooding remains the same

मिर्चैया नगरपालिकाको पनि १५ प्रतिशत स्वामित्व भएकोले अपेक्षित ढंगले काम नभएको नगरपालिकाले भन्दै निर्माण कम्पनीले धरौटी राखेको २३ लाख रुपैयाँ रोकेको थियो । तर, चालु आर्थिक २०८०/८१ वर्षमा नगरपालिकाले त्यो रकम पनि निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ ।

नगरपालिकाका इन्जिनियर नन्दन ठाकुरले कान्तिपुरलाई भने, ‘हामीले धरौटी रोकेपछि निर्माण कम्पनीले पालिकामाथि उजुरी र मुद्दाहरु पनि गर्यो, तैपनि हामीले दिएनौं, धेरै प्रेसर भएर यसपालि भुक्तानी दियौं ।’

अहिले वर्षायाममा जताततै पानी जमेपछि नगरपालिकाले टालटुले प्रयास गरेर ढाकछोप गर्दै आएको छ । इन्जिनियर ठाकुरका अनुसार, हृयुम पाइपमा ‘लाइनिङ’मा समस्या देखिएको छ । ‘केही समयअघि समस्या देखिएपछि हेर्दा बतहा खोलातिर ‘लाइनिङ’मा समस्या देखिएको थियो,’ उनले भने, ‘तर, हामीले त्यसलाई ठीक गरेका थियौं, अब त त्यस्तो नहुनुपर्ने हो ।’

यति मात्र नभई खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना, क्षेत्रिय आयोजना व्यवस्थापन कार्यालय इटहरीले पनि काममा समस्या देखिएपछि र मिर्चैयामा व्यापक गुनासा सुनिएपछि निर्माण कम्पनीको तीन करोड रुपैयाँ भुक्तानी रोकेको थियो । तर, गत आर्थिक वर्ष २०७९/८० मा निर्माण कम्पनीलाई उक्त भुक्तानी पनि गरिसकिएको छ ।

Recurring flooding in Mirchaiya: 37 crore spent on construction of sewers, flooding remains the same

सबै काम सकेर नगरपालिकालाई हस्तान्तरण भइसकेकाले अब यस विषयमा आफूहरुभन्दा नगरपालिकाले नै जवाफ दिनुपर्ने आयोजना व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुरञ्जन बराल पनि सतह ढलले काम गर्न नसकेको स्वीकार गर्छन् । तर, उनले ढलभित्र फोहोर जमेको र सफाइ हुन नसकेकाले यस्तो समस्या भएको हुनसक्ने दाबी गर्छन् ।

वर्षायाम सकिएपछि ढलमा देखिएको समस्याको पहिचान गरी समाधानको प्रयास गरिने उनले बताएका छन् । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादव भने पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा खनिएका खाल्डाका कारण यस्तो समस्या भएको दाबी गर्छन् । राजमार्ग निर्माणको काम सकिएपछि भने यो अवस्थाको अन्त्य हुने दाबी उनको छ ।

‘चिनियाा ठेकेदारले ढल छेउछाउमा जथाभावी खनिदिएका छन्, जसका कारण कतिपय ठाउँमा जमिन तल र ढल माथि देखिन्छ,’ उनले भने, ‘त्यसैले पानी ढलमा पस्न नसकेर यस्तो समस्या देखिएको हो, राजमार्गको काम सकेपछि यो समस्या हट्छ ।’

यति ठूलो लगानीको काम भएपनि किन यस्तो समस्या देखियो भन्ने विषयमा बुझ्न बीकोई बिल्डर्स योगी जेभीका सञ्चालक होमनाथ कोइरालालाई पटकपटक सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन सकेन । 

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully