सिरहा अदालतमा घुस प्रकरण : घुस लिने कर्मचारीलाई काम गर्न रोक 

असार २६, २०८१

विनय आजाद

Bribery case in Siraha court: Employees who take bribes are banned from working

सिरहा — सिरहा जिल्ला अदालतमा एक सेवाग्राहीसँग १५ हजार घुस लिने नायब सुब्बा गुञ्जेश्वर महतोलाई अदालतले काम गर्न रोक लगाएको छ ।

कान्तिपुरले कर्मचारीले घुस खाएको पर्दाफास गरेपछि अदालतले उनलाई सोमबारबाटै काम गर्न रोक लगाएको हो । त्यससँगै उनलाई स्पष्टीकरण सोधिएको छ भने अदालतले उनीमाथि छानबिन थालेको छ ।

'यो घटनापछि हामीले उनलाई काम गर्न रोक लगाएर स्पष्टीकरण सोधेका छौं,' अदालतका श्रेस्तेदार राजकुमार आचार्यले कान्तिपुरसित भने, 'छानबिन पनि सुरु भएको छ ।' यो विषय सर्वोच्च अदालत र उच्च अदालत, जनकपुरलाई पनि जानकारी भएको र कारबाहीका लागि त्यहाँबाट पनि छानबिन भइरहेको उनले जानकारी दिएका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा ७ महिनादेखि अदालत धाइरहेका एक जना सेवाग्राहीसँग गत शुक्रबार नायब सुब्बा महतोले घुस मागेपछि पीडित सेवाग्राही कान्तिपुरको सम्पर्कमा आएका थिए । 

मुद्दामा जोडिएका प्रतिवादी आमा र भाइ अदालतमा हाजिर नभएका कारण उनीहरुको सम्पत्ति रोक्का हुने भएपछि नायब सुब्बाले २५ हजार दिए आफूले सम्पत्ति रोक्का गर्नका लागि मालपोतमा पत्र नलेख्ने र नदिए पत्र लेखेर रोक्का गरिदिने भन्दै बार्गेनिङ गरेका थिए । २५ हजार घुसमा बार्गेनिङ गरेका कर्मचारी पछि १५ हजारमा ‘काम’ गरिदिन तयार भए । कान्तिपुरले गरेको भिडियोमा कर्मचारीले भनेका छन्, ‘१५ देखि २० हजार लिएर आउनुस्, रोक्का हुँदैन, हामी मिलाउँछौं ।’

त्यसपछि सोमबार १५ हजार बोकेर अदालत पुगेका सेवाग्राहीले कर्मचारीले अह्राएबमोजिम कागजमा उक्त पैसा दिएका थिए । कर्मचारीले उक्त पैसा आफ्नै टेबुलको घर्रामा राखेर अरु काम गर्न थालेपछि कान्तिपुरले भिडियो खिचेको थियो ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully