धनुषा — जनकपुरको अन्तरगृह परिक्रमा गरी १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै छ । मध्यरातदेखि जनकपुरधामको पञ्चकोशी अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो । आइतबार मध्यरात १२ बजेपछि भक्तजनहरू पदयात्रा सुरु गरेका थिए ।
फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका-८ स्थित मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो । धार्मिक यात्रामा नेपालको १२ तथा भारतको तीन स्थानमा विश्रामस्थल रहेको छ । मिथिला मध्यमा परिक्रमाका क्रममा सहभागी तीर्थालुहरू नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा हिँडेर पूरा गर्ने गरेका छन् ।
परिक्रमा फागु पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पन हुँदैछ । अन्तरगृह परिक्रमाको भोलिपल्ट मात्रै मिथिलामा होली मनाउने परम्परा रहेको छ । जनकपुरमा मंगलबार माछामासु खान नमिल्ने भएपछि बुधबार होली मनाउन लागिएको छ ।
