पन्छी अनुसन्धान कार्यक्रममा वैज्ञानिककै अभाव 

माघ २५, २०८०

शंकर आचार्य

पर्सा — अनुसन्धानको प्रमुख जिम्मेवारी रहेको राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरमा अनुसन्धानकर्ता वैज्ञानिककै अभाव छ । यहाँ कार्यालय स्थापना भएर कार्यक्रम सन्चालन भएको एक वर्ष बित्न लाग्दा पनि कार्यालयमा कति कर्मचारी रहने भन्ने यकिन भएको छैन ।

कार्यालयमा हाल कार्यालय प्रमुख एवम् वैज्ञानिक पूर्णचन्द्र चापागाई र अर्का वैज्ञानिक एवम् सूचना अधिकृत अजित कुमार झा मात्र अनुसन्धानकर्ताकारुपमा कार्यरत छन् । स्वास्थ्यतर्फ अर्का एक प्राविधिक कार्यरत छन् । कार्यालयका सूचना अधिकृत झा कार्यालयमा विभिन्न विधामा गरी कम्तिमा थप ४ जना प्राविधिक जनशक्ति आवश्यक रहेको बताउँछन् ।

‘कार्यालय प्रमुखले धेरै समय प्रशासनिक काममा खर्च गर्नुपर्ने हुन्छ, म एक्लैले अनुसन्धान र प्रयोगशाला समेत हेर्नुपरेको छ,’  उनले भने, ‘कार्यालयमा तत्कालै थप वैज्ञानिक/अनुसन्धानकर्ता, प्रयोगशाला सन्चालन गर्ने, पोषण र प्रजनन बिधा हेर्ने जनशक्तिको अभाव छ ।'

उनले अनुसन्धान हुने कार्यालयको प्रयोगशालामै जनशक्ति अभाव हुँदा बेला-बेलामा पन्छीहरुमा फैलिने बर्ड फ्लु, रानीखेत जस्ता रोगको प्रकोप देखिँदा समस्या हुने गरेको बताए । ‘यो कार्यालयमा प्रयोगशालाको सबैभन्दा बढी महत्व छ,’  उनले भने, ‘रोगको प्रकोप फैलिँदा प्रयोगशालामा जनशक्ति अभाव भए कार्यालयको उपादेयता माथिनै प्रश्न उठन सक्छ ।’ 

कार्यालयबाट राष्ट्रिय कृषि अनुसन्धान परिषदसँग पटक-पटक अपुग जनशक्तिको माग गरिरहेको, तर जनशक्ति नपाएको उनले बताए । यसबाहेक कार्यालयमा रहेका विभिन्न पन्छीहरुलाई खुवाउने दानामा वर्षेनि ठूलो रकम खर्च भइरहेकोमा कार्यालयमै दानाको प्लान्ट राखेर दाना उत्पादन गर्न सके सरकारको ठूलो खर्च जोगिने उनको भनाइ छ ।

हाल कार्यालयलाई वर्षनि दानाको बजेट ३० लाख रुपैयाँ रहेकोमा यसलाई बढाएर ५० लाख रुपैयाँ बनाउनुपर्ने अवस्था रहेको उनले बताए । कार्यालय परिसर जम्मा ३ बिघा क्षेत्रफलमा सीमित भएकाले अध्ययन अनुसन्धानका लागि जग्गाको समेत अभाव छ ।‘हालको भन्दा कम्तिमा दोब्बर जग्गा हामीलाई आवश्यक छ,’ उनले भने, ‘जैविक सुरक्षा व्यवस्थापन गर्न पनि हामीलाई पर्याप्त जग्गा आवश्यक परेको छ ।’  

यो कार्यक्रम संघीय राजधानी काठमाडौंको खुमलटारबाट आर्थिक बर्ष २०७९/०८० देखि परवानीपुरमा स्थानान्तरण गरी सन्चालन हुँदै आएको छ ।  हाल प्रादेशिक कृषि अनुसन्धान केन्द्र परवानीपुर परिसरमा सन्चालित यो कार्यक्रमको स्थानमा बिगतमा सेन्ट्रल ह्याचरी सन्चालनमा रहेको थियो । 

बिक्रम सम्बत् २०१८ सालमा तत्कालीन कृषि बिभाग अन्तर्गत् सेन्ट्रल ह्याचरीको रुपमा स्थापित ह्याचरीको तत्कालीन राजा महेन्द्र शाहले उद्घाट्न गरेका थिए । २०४६ सालको राजनीतिक परीवर्तनपछि सेन्ट्रल ह्याचरी तत्कालीन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको मातहतमा रहने गरी कुखुरा अनुसन्धान इकाई नामाकरण गरी सन्चालनमा रहेको थियो । 

६ दशक अनवरत रुपमा सन्चालनमा रहेको ह्याचरीले देशको विभिन्न भेगका किसानलाई कुखुरा,हाँस, टर्की, बट्टाई लगायतका पन्छीको चल्ला निःशुल्क तथा सशुल्क समेत बिक्री बितरण गर्दै आएको छ । २ बर्ष अघि कृषि अनुसन्धान परिषद (नार्क) ले कुखुरा अनुसन्धान इकाइलाई राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति गरी सन्चालन गर्ने निर्णय गरेको थियो । 

हाल राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत गिरिराज, न्यु हेम्पसायर, अष्ट्रेलो जातका कुखुराहरु, टर्की, बट्टाई लगायतका ग्रामिण पन्छीहरुमा देशव्यापी अनुसन्धान र प्रसार गर्ने काम गरिरहेको छ । 

हाल कार्यालय परिसरमा पन्छी पालनका लागि ८ वटा पोल्ट्री शेड चालु हालतमा रहेको छ । त्यस बाहेक एउटा शेड निर्माणाधीन छ । यहाँ चल्ला उत्पादन गर्ने ह्याचरी पनि तयारी हालतमै छ ।

६ दशक देखि अनवरत रुपमा सन्चालनमा रहेको यो कार्यालयमा ३ वर्ष अघि बिभिन्न संक्रामक रोग फैलिएर कुखुरा, टर्की, बट्टाई आदि गरी २ हजारभन्दा बढी पन्छी मरेका थिए । हाल पन्छी पालन र तीनमा अनुसन्धानसँगै चल्ला उत्पादन र बितरण पनि भइरहेको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully