युवा र जनतामुखी बन्न नसक्दा असफल भएको महासचिव पोखरेलको स्वीकारोक्ति
What you should know
बुटवल — एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा वैचारिक पुनर्गठन अनिवार्य भएको बताएका छन् । उनले पार्टीको आन्तरिक कमजोरी स्वीकार्दै अब वैचारिक पुनर्गठन, युवा र जनतामुखी बन्नुपर्ने आवश्यकता औंल्याए ।
लुम्बिनी प्रदेश कमिटीद्वारा आइतबार कपिलवस्तुको चन्द्रौटामा आयोजित मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले पार्टी र आफ्ना व्यक्तिगत कमजोरी पनि स्वीकार गरेका हुन् । महासचिव पोखरेल पार्टीमा नेतृत्वको रक्षामा खरो लाग्ने र आफ्ना कमजोरी स्वीकार नगर्ने नेता भएको आलोचना कार्यकर्ताले गर्दै आएका थिए । तर, आइतबारको कार्यक्रममा उनले कार्यकर्तासँग खुलेरै आत्मालोचना पनि गरे ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन,’ उनले भने, ‘अब वैचारिक पुनर्गठन आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन । पार्टी जीवनमा सबैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा छ ।’
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न तयार रहेको बताए । सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण एमालेले गरेका राम्रा कामको पनि नकारात्मक प्रचारमात्र बढेको उनको जिकिर थियो । ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौं उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेशिएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गरे,’ उनले भने, ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँगाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्यो ।’
सहरिया, नवयुवा, विदेश बसेका र सुकुमुवासी पार्टीबाट टाढिएको स्थानीय चुनावपछि नै थाहा भए पनि त्यसलाई बुझेर योजना निर्माण गर्न नसक्दा पार्टी असफलतामा पुगेको उनको टिप्पणी थियो । मिसन ग्रासरूट चलाए पनि त्यसमा गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा पार्टीबाट युवाहरु टाढिएको उनले बताए । ‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौं तर वर्ग संघर्षलाई हामीले बुझ्न सकेनौं, सीडीओ र राम्रो हाकिम खोज्दै हिँड्यौं । हामी जनताबीच जाने हैन, जनता हामीकहाँ आउने बनायौं,’ उनले भने, ‘यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौं, जनतामुखी भएनौं, त्यसैले असफल बन्यौं ।’
कांग्रेसले नचाहेकाले प्रदेशमा नेकपासँग गठबन्धन बाध्यताको परिणाम भएको उनले प्रष्टीकरण दिए । महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्याउन कार्यकर्तालाई निर्देशन पनि दिए ।
आइतबारको बैठकले प्रदेश कमिटीमा २१ जना मनोनयन गरेको छ । जसमा रूपन्देहीबाट पम्फावती खनाल, चिनबहादुर गुरूङ, कपिलवस्तुबाट बाबुराम आचार्य, टेकराज पौडेल, हीरालाल पौडेल, नवलपरासीबाट गणेश पौडेल, मोहनबहादुर विक, दाङबाट लीला पुन, धर्मराज भारी, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हीरा एसी र श्रीकृष्ण भुसाल, अर्घाखाँचीबाट जीवनारायण कोइराला, बाँकेबाट दिपक निरौला, प्यूठानबाट धर्म गिरी, पाल्पाबाट देवी लामिछाने रहेको प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए ।
