लुम्बिनीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

कांग्रेसबाट मन्त्री बनेका धनेन्द्र कार्की, सरोज थापा (रोज), जन्मजय तिमिल्सिना, प्रचण्डविक्रम न्यौपाने र देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन् ।

श्रावण १०, २०८३

घनश्याम गौतम

बुटवल — लुम्बिनी प्रदेश सरकारका लागि एमाले र नेकपाबीच सहकार्य अघि बढेपछि अहिलेसम्मको एमालेको सत्ता साझेदार दल कांगेसका मन्त्रीले राजीनामा दिएका छन् । 

कांगेसका पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदको राजीनामा बुझाएका छन् । दलको तर्फबाट सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त राजीनामा बुझाउने तयारी छ । कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन् । 

कांगेस प्रमुख सचेतक जमुना ढकालले कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा आएको र आइतबार सार्वजनिक बिदा अनि मुख्यमन्त्री पनि देउखुरी बाहिर भएकाले बुझाउन नसकिएका बताइन् । ‘कांग्रेसका सबै मन्त्रीले राजीनामा बुझाई सक्नु भएको छ, आज मुख्यमन्त्री देउखुरी बाहिर भएको बुझाउन सकिएन,’ उनले भनिन्, ‘सोमबार दलको तर्फबाट सामूहिक रूपमा राजीनामा बुझाउने र सोमबार नै मुख्यमन्त्रीले स्वीकृत गर्ने गरी छलफल भएको छ ।’

लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार थियो । सरकारबाट २७ सदस्यसहितको कांग्रेस बाहिँरिदा १३ सदस्य रहेको नेकपा सरकारमा भित्रिएको छ । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन् । तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका २, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका दुई  तथा जसपा, राष्ट्रिय जनमोर्चा र  स्वतन्त्रका एक–एक सांसद छन् ।

बहुमतका लागि एमाले र नेकपाले साना दल या स्वतन्त्र मध्य कुनै एकलाई लिनै पर्ने बाध्यता छ । त्यसैले अहिले पनि सरकारमै खेलकुदमन्त्री रहेका लोसपालाई एमाले नेकपाले सत्ता साझेदार दलका रुपमा प्रयोग गर्न सक्ने सम्भावना छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको राजिनामा आउने जानकारी आएपछि पछिल्लो केन्द्र्रको समीकरणअनुसार सरकार पुर्नगठनका लागि छलफल सुरु भएको बताए ।

‘कांग्रेसका साथीहरूको राजीनामा आउने जानकारी आएको छ,’ उनले भने, ‘त्यसैले नेकपासँगै सरकारमै रहेको लोसपालाई पनि साथमै राखेर अघि बढ्ने तयारी छ ।’ एक दुई दिनमै केन्दको निर्देशनअनुसार सरकार विस्तार गर्ने गरी प्रक्रिया अघि बढने उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully