छनोटमा परेका २६ जना बाँदर हेरालुले डिभिजन वन कार्यालयबाट नियुक्ति पाएर गाउँ हिँडेका छन् । उनीहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउने गरी दुई महिनाका लागि काम गर्नेछन् ।
What you should know
अर्घाखाँची — छनोटमा परेका २६ जना बाँदर हेरालुले डिभिजन वन कार्यालयबाट नियुक्ति पाएर गाउँ हिँडेका छन् । जिल्लाको ६ स्थानीय तहका बाँदर प्रभावित क्षेत्रका २६ ठाउँमा पुगेर आइतबारदेखि मकै नोक्सान गर्न बारीमा आउने बाँदरलाई धपाउनेछन् ।
मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउने गरी दुई महिनाका लागि काम गर्नेछन् । वन कार्यालयले हेरालुको लागि २० जनाको दरखास्त आह्वान गरेको थियो । शुक्रबारसम्म ७६ जनाले आवेदन दिएकामा वनले बाँदर प्रभावित क्षेत्रका स्थानको माग बढेकाले २६ जनालाई शनिबार छनोट गरेको हो । नियुक्तिसँगै उनीहरुलाई दुई घण्टा प्रशिक्षण दिएर पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वन्यजन्तु बासस्थानमा बस्न र बाँच्न पाउने अधिकारलाई ध्यान दिन हेरालुलाई अनुरोध गरे । ‘कृषि बालीमा वन्यजन्तुले नोक्सा गरिदिँदा धपाउने क्रममा मर्यो भने अहिले कानुन लाग्दैन, त्यहीँ मुचुल्का उठाएर गाडिदिने हो,’ उनले भने, ‘हेरालुको काम बाँदर मार्ने होइन, धपाउने हो । किसानको बाली जोगाउने र सुरक्षित गर्न ध्यान दिने हो ।’
डिभिजन वन कार्यालय प्रमुख नारायणदेव भट्टराईले किसानसँग समन्वय गर्ने, बाँदर मकैबारीमा पस्न थालेको देखे, होहल्ला गर्दै किसानलाई जानकारी दिने र किसान–हेरालु मिलेर मकै जोगाउनु ध्यान दिनुपर्ने बताए ।
दुई महिनासम्म हेरालुले बाँदरको समूह कता छ, कता जाँदैछ नियमित निगरानी राख्ने, कृषकलाई बेलाबेलामा सूचना दिने, बाँदरले बाली नोक्सान गरिदियो भने त्यसको अभिलेख राख्ने र सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने कामको जिम्मेवारी हेरालुको रहेको वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए ।
बाँदरलाई गाउँबस्ती र खेतीयोग्य क्षेत्रबाट धपाएर प्राकृतिक बासस्थानतर्फ धपाउने काम उनीहरुको रहने छ । हेरालुलाई आवश्यक सामग्री र पोसाक उपलब्ध गराएर पठाइएको छ ।
नियुक्ति पाएका वन हेरालु चन्द्रमान श्रेष्ठले वनले दिएको जिम्मेवारी अनुसार काम सफलतापूर्वक निभाउने बताए । ‘वन्यजन्तुलाई सुरक्षित स्थानमा पुर्याई किसानको खेतीबाली जोगाउने जस्तो महत्त्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने, ‘त्यो पूरा गर्छु । यस कामले गाउँका किसानसँग पनि राम्रो सम्बन्ध होला भन्ने आशा छ ।’ नियुक्ति पाएका २६ जना हेरालुलाई वन कार्यालयले क्षेत्रफल तोकेर जिम्मेवारी दिएको छ ।
