विद्यालयमा आगलागीमा परेर घाइते बालिकाको काठमाडौंमा थप उपचार हुँदै

केही समयपछि अभिभावकको आग्रहपछि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगिएको थियो ।

श्रावण ८, २०८३

माधव अर्याल

Girl injured in school fire undergoing further treatment in Kathmandu

पाल्पा — पाल्पाको तानसेनस्थित मिलेनियम माविको क्यान्टिनमा खाजा पकाउने क्रममा ग्यासको पाइप फुस्किएर आगलागीमा परेकी ८ वर्षीया छात्रा सजुदा बानुको उपचार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

शरीरको ४५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । अस्पतालका अनुसार गहिरोसँग जलेकाले अवस्था गम्भीर छ । बिहीबार दुर्घटनामा परेपछि उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भएको थियो ।

केही समयपछि अभिभावकको आग्रहपछि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । स्कुलको क्यान्टिनमा खाजा खाइरहेका बेला नजिकै रहेको खाना पकाउने ग्यासको पाइप फुस्किएपछि आगो फैलिएको विद्यालयले जनाएको छ ।

तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको कक्षा एलकेजीमा अध्ययनरत ८ वर्षीया छात्रा बानु विद्यालयकै भान्सा कोठामा खाजा खाने क्रममा अचानक ग्यासको पाइप फुस्किन जाँदा आगोको लप्काले जलेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार छात्रा बानुको अनुहार, दुवै हात, छातीको दाहिने भाग र कम्मरदेखि पैतालासम्मका भाग आगोले जलेका थिए ।

विद्यालयका प्राचार्य महेन्द्र पोखरेलका अनुसार अभिभावकले थप उपचारका लागि लैजान आग्रह गरेपछि हेलिकोप्टरमार्फत् काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully